गोर्खापत्र:बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा एक एक वटा ‘भ्यु टावर’ (दृश्यावलोकन स्तम्भ) निर्माण गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा ‘भ्यु टावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपियाँ खर्च भएको छ ।
बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ र दोलखामा ‘भ्यु टावर’ सम्पन्न भएको हो ।
२०७६ सालमा सम्झौता गरेर २०७९ सालसम्ममा सबै ‘भ्यु टावर’ को निर्माण सम्पन्न भएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अमृतकुमार श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा भने भ्यु टावर निर्माण गरिएको छैन ।
मकवानपुर जिल्लाको चित्लाङ ‘हिल स्टेसन’ निर्माणका लागि प्रदेश सरकारले दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपियाँ उपलब्ध गराएको थियो । नुवाकोटको ककनी ‘हिल स्टेसन’ तीन करोड ३२ लाख ३२ हजार ६५९ रुपियाँमा निर्माण सम्पन्न भएको हो ।
सिन्धुपाल्चोकमा तीन करोड पाँच लाख २६ हजार ८७८ रुपियाँमा ‘भ्यु टावर’ निर्माण भएको थियो । पर्यटन विकास आयोजना, हेटौँडा अन्तर्गत निर्माण भएका यी ‘हिल स्टेसन’ २०७६ सालमा सम्झौता भई २०७७ सालमा निर्माण सम्पन्न भएका हुन् ।
२०७७ सालमा सम्झौता भई २०७८ मा सम्पन्न भएका ‘हिल स्टेसन’ मा काभ्रेको रोसी भूमिचुलीमा दुई करोड १९ लाख ८१ हजार ६५३ रुपियाँ, रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी–५ मा दुई करोड ६५ लाख ८६ हजार ३४७ रुपियाँमा र सिन्धुली जिल्लाको सिद्दबाबा चुचुरोमा दुई करोड सात लाख ५५ हजार ९२० रुपियाँमा ‘भ्यु टावर’ निर्माण भएको मन्त्रालयले जनाएको छ ।
यसै गरी नुवाकोटको चिम्टेश्वरमा दुई करोड ७४ लाख ३८ हजार ७६८ रुपियाँमा, धादिङको तोप्लाङमा दुई करोड १८ लाख ८९ हजार ६६९ रुपियाँमा र दोलखा जिल्लाको जिरी ‘हिल स्टेसन’ दुई करोड ६४ लाख ३४ हजार ९९६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएका मन्त्रालयले जनाएको छ । यी ‘हिल स्टेसन’ २०७७ सालमा सम्झौता भई २०७९ मा सम्पनन भएका हुन् ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाका अनुसार ‘भ्यु टावर’ सँगै शौचालय र सभा हल पनि निर्माण भएका छन् । भौतिक संरचनाको प्रगति पूरै भए पनि लागत अनुमानको ८५ देखि ९० प्रतिशत खर्च भएको श्रीवास्तवले बताए ।
सञ्चालन कार्यविधि बन्दै
प्रदेश सरकारको लगानीमा बनेको ‘भ्यु टावर’ हस्तान्तरण भने हुन बाँकी छ । बागमती प्रदेश सरकारको निर्माण भएका पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन एवं समुचित उपयोगका लागि कार्यविधि निर्माण भइरहेको छ । यसका लागि तयार गरिएको पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि साउन ९ गते आर्थिक मामिला तथा योजना मन्त्रालय पठाइएको छ ।
मस्यौदामा निर्माण सम्पन्न भइसकेका ‘भ्यु टावर’ स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ । स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका ‘भ्यु टावर’ सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मा दिने गरी मस्यौदा तयार गरिएको पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशनकुमार श्रीवास्तवले जानकारी दिए ।
कार्यविधिको मस्यौदामा पर्यटन पूर्वाधार वा सम्पदा परिसर प्रवेशमा लाग्ने प्रवेश शुल्कलगायतका शुल्क स्थानीय तहले तोकेबमोजिम हुने र निजी क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शुल्क निर्धारण गर्न सकिने उल्लेख छ । पूर्वाधारको सेवा शुल्कबाट प्राप्त रकमको कम्तीमा १० प्रतिशत पर्यटन पूर्वाधार वा सम्पदाको संरक्षण, प्रवर्धन र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ ।