धनगढी। कञ्चनपुरको मध्यवर्ती क्षेत्रमा मरेको जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार बिहीबार अन्त्येष्टि गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको अन्त्येष्टि गरेको हो ।
हिन्दु धर्मावलम्बीहरूले हात्तीलाई गणेश भगवानको रूपमा पुज्ने गर्छन् । त्यसैले पूजाआजा गरेर हात्तीको अन्त्येष्टि गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा नगरपालिका –७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको सेप्टी ट्याङ्कीमा बिहीबार राति फसेर हात्तीको ज्यान गएको थियो ।
हात्ती करिब ३५ देखि ४० वर्षको वयस्क पोथी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए । उनका अनुसार झुण्डबाट छुट्टिएर एक्लै हिँडेको हात्ती करिब १२ बजेतिर चर्पीको सेप्टी ट्याङ्कीमा परेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली हात्तीको सङ्ख्या यकिन छैन । हरेक वर्ष २४–२५ वटा हात्तीको झुण्ड निकुञ्जमा देखिए पनि नेपाल–भारतमा ओहोरदोहोर गरिरहने गरेको जनाइएको छ । कञ्चनपुरमा पछिल्लो केही वर्षयता तीन वटा जङ्गली हात्तीको ज्यान गइसकेको छ ।
गतवर्ष झुण्डबाट छुट्टिएको एउटा छावा मृत भेटिएको मेहताले जानकारी दिए । यसैगरी, छ वर्ष अगाडि पुनर्वास नगरपालिका –१० स्थित नमुना सामुदायिक वनमा शिकारीले थापेको विद्युतीय पासोमा परेर एउटा भाले हात्तीको ज्यान गएको थियो ।