हेटौँडा: मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले क्याम्पसको विधि र विधानविपरीत प्राध्यापक नियुक्ति गरेको विरोधमा पाँच विद्यार्थी सङ्गठनले संयुक्त रुपमा क्याम्पस प्रमुख शङ्करप्रसाद उपाध्यायलाई ध्यानाकर्षणपत्रसहित ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
क्याम्पस प्रशासनले क्याम्पसमा रिक्त भएको नेपाली विषयको एक जना प्राध्यापकको स्थानमा तीन जना प्राध्यापक नियुक्त गरेपछि क्याम्पसमा क्रियाशील पाँच विद्यार्थी सङ्गठन आन्दोलित बनेका हुन् । पाँच विद्यार्थी सङ्गठनले बिहीबार ४८ घण्टे अल्टिमेट सहित क्याम्पस प्रमुख शङ्करप्रसाद उपाध्यायलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
मकवानपुर बहुमुखी क्याम्पस एकाइ नेपाल विद्यार्थी सङ्घका अध्यक्ष बुद्धबहादुर ब्रम्ह (बराम), अखिल (क्रान्तिकारी) का अध्यक्ष छोइसाङ लामा(स्याङ्तान), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष समृत खतिवडा, अखिल (क्रान्तिकारी) का अध्यक्ष सुवास सिं र अनेरास्ववियुका उपाध्यक्ष दीपेश कार्कीले संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा विधि विधानविपरीत नियुक्त प्राध्यापक तुरुन्त हटाउन माग गरिएको छ ।
पाँच विद्यार्थी सङ्गठनहरुले ४८ घण्टाभित्र आफ्ना माग पूरा गर्न क्याम्पस प्रशासनसँग माग गरेको र माग पूरा नभए आन्दोलनमा जाने र त्यसबाट हुने क्षतिको जिम्मेवार क्याम्पस प्रशासन नै हुने चेतावनी दिएका छन् ।
यसअघि बुधबार क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै अवैधानिक रुपमा प्राध्यापक नियुक्ति गरेकोमा आपत्ति जनाउँदै सच्याउन माग गरेको थियो ।
क्याम्पसका नेपाली विषयका प्राध्यापक रामचन्द्र सुवेदी सेवानिवृत्त भएपछि नेपाली विषयको प्राध्यापक आवश्यक परी विज्ञापन आह्वान भएको ठाउँमा तीन जना प्राध्यापक नियुक्त गरिएकोप्रति क्याम्पसको ध्यानाकर्षण भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । क्याम्पसको विधि विधानविपरीत नियुक्त गरिएका प्राध्यापकहरुलाई तत्काल हटाउन भन्दै स्ववियुको मागलाई सम्बाेधन नगरेमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको थियो ।