Friday, February 14, 2025
समाजआज ‘श्रीकृष्ण जन्माष्टमी’

आज ‘श्रीकृष्ण जन्माष्टमी’

काठमाडौँ: आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । भगवान श्रीकृष्णको जन्म भएको अवसरमा देशभर यो पर्व श्रीकृष्णको पूजाआराधना गरी मनाइने गरिन्छ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ। महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ पनि भनिन्छ। यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ। कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको छ। कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। यस्तै, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img