काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पदबाट राजीनामा तयार रहेपछि अहिले आन्दोलनरत न्यायाधीशतर्फका तीन न्यायाधीशसँग प्रधानन्यायाधीश वार्तामा रहेको बुझिएको छ ।
वार्तामा आन्दोलनरत न्यायाधीशहरूका तर्फबाट न्यायाधीशत्रय सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेका छन् ।वार्ता गर्न गठन गरिएको समितिले प्रधानन्यायाधीशको स्पष्ट धारणा बुझेर जानकारी दिने भनिएको छ ।इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् ।
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टीका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एकपटक वार्ता बस्ने निर्णय गरेका हुन् । ‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) वार्ता हुन्छ,’ एक न्यायाधीशले भने ।
कालो पट्टि बाँधेर विरोधमा उत्रिएपछि प्रधानन्यायाधीशले आफू पदबाट राजीनामा दिन तयार रहेको भनेपछि विरोधमा रहेका न्यायाधीशहरुले वार्ता टोली गठन गरेका थिए ।प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने न्यायाधीशहरुको अडान रहेको छ ।



