Sunday, September 15, 2024
समाजघुमुवा प्रहरीको गुण्डागर्दी शैलीले प्रहरी कार्यालयमै गयो विरामी महिलाकाे ज्यान

घुमुवा प्रहरीको गुण्डागर्दी शैलीले प्रहरी कार्यालयमै गयो विरामी महिलाकाे ज्यान

हेटौंडा – प्रहरीको लापरवाहीको कारणले गर्दा जिल्ला प्रहरी कार्यालय मकवानपुरमै विरामी महिलाकाे मृत्यु भएकाे प्रहरीमाथि आरोप लागेको छ ।  मकवानपुरको बकैया गाउँपालिका वडा नं. १ घोबिढडाँडाकी ५६ बर्षीया चिरमाया लोको ज्यान गएको हो ।

थिर माया मुटु रोगबाट ग्रसित थिइन् । थिर मायालाई उनको आफन्तले केही दिन अघि काठमाडौस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि लगेका थिए । उपचार गरेर बचाउन नसक्ने भएपछि डाक्टरले चिरमायालाई घर लैजान सल्लाह दिएका थिए ।

उनीहरु बिरामीलाई अक्सिजन लगाउनु पर्ने भएकोले एम्बुलेन्समा र आफन्तहरु टाटासुमोमा फर्किदै थिए । उनीहरुले टाटासुमो हेटौंडासम्मका लागि रिर्जभ गरेका थिए । गाउँसम्म जानका लागि गाउँकै सुमो बोलाएका थिए ।  उनीहरुले गएराति करिब साँढे ११ बजेपछि हेटौंडा–४ रानीमल अगाडी पूर्वपश्चिम राजमार्गमा उत्रिएका थिए । त्यही उनीहरु काठमाडौंबाट आएको सुमोबाट ओर्लिएर गाउँ जाने टाटासुमो चड्दै थिए । त्यही बेलामा पोखामा खटिएका घुमुवा प्रहरी सहायक हवल्दार दिल्लीराम शिवाकोटी खानतलासी गर्न पुगेका थिए ।

मादक पदार्थ सेवा गरेका शिवाकोटीले एम्बुलेन्स सहित तीन वटै सवारीको चाबी थुतेर “म हेटौंडाको डन हुँ” भन्दै चालकमाथि हातपात गरेको मृतका छोरा लाल बहादुर वाइबाले बताएका छन् । “आउने वित्तिकै गाडीमा ड्याङडुङ गर्न थाल्नु भयो, अनि मैले दाई तपाइले के गर्न खोज्नु भएको भन्दा म यहाँको दादा हो, म केटाहरु बोलाईदिउँ, गोली ठोकदिउँ रे” वाइबाले सुनाए, “यस्तो हेर्ने वित्तिकै मात्तेको जस्तो देखिराको थिए, पाँच मिनेटसम्म हामी सबै साइलेन्ट ।”

वाईबाले शिवाकोटीसंग “गाडीमा डाक्टरले बचाउन सकिदैन भनेको विरामी छ, तपाई गर्न खोज्नु भएको के त दाई, तपाई को हो ? भनेर प्रश्न गर्छन्, तर सिवाकोटी आफनो परिचय नखुलाई उग्र रुपले प्रस्तुत भएर वाइबाले भीरेको झोला समात्न पुगे ।  “घुमुवा प्रहरी भन्नेपछि थाहा भयो, उहाँले मेरो झोलामा समात्नु भयो, त्यसपछि मैले उहाँको हात फ्यालिदिए, मलाई फेरी छोप्नु भयो, मेले फेरी हात फ्यालिदिए,” वाइबाले भने, “के छ हाम्रो गल्ती पुलिस बोलाउने भए बोलाउनु न त भन्दा, उसले पछाडीबाट गन निकालेपछि मैले धकेदिएको गन झर्यो, त्यो मान्छे झ्यापमा थियो ।”

त्यसपछि सिवाकोटी र विरामीका आफन्तबीच हात हालाहालको स्थिति श्रृजना भएको थियो । झगडा भएको स्थानमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर प्रहरी बिरामी बोकेको एक वटा एम्बुलेन्स, २ वटा टाटासुमोलाई राती १२ बजे निणन्त्रणमा लियो ।  करिब २ घण्टापछि विरामीका छोरा र ज्वाईसहित ५ जनालाई हिरासतमा राख्यो । सोही समयमा आफ्नो विरामीको मृत्यु भएको वाइबाले बताए ।

“हाम्रो विरामीको मुठ्ठी सास मात्रै थियो, त्यो एक मुठ्ठी सास हुँदै घरमै पुर्याउने भनेर लिएर आएको, हामीलाई हाकिम छैन भनेर प्रहरी कार्यालयभित्रै राख्यो,” वाईबाले भने, “अक्सिजन सक्किन्छ भनेर एम्बुलेन्सलाई बाहिर पठायो, अक्सिजन भेरर ल्याएपछि एम्बुलेन्सभित्र छिराउन दिएन, आमाको बाहिर मृत्यु भयो ।”

त्यसपछि प्रहरीले एक कागजमा हस्ताक्षर गर्न लगाएर नियनत्रणमा लिएका एक ज्वाई र चार छोरालाई प्रहरीले छाडिएको छ । तर आफन्तले शवलाई घर लिएर गएका छैनन् । जिल्ला प्रहरी कार्यालय मकवापनुरको नजिकै पार्किङ्ग स्थलमा राखिएको छ ।

झडपको क्रममा घुमुवा प्रहरी शिवाकोटी घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । तर घटनाको विषयमा हेटौंडामा गृहमन्त्री नारायण काजी श्रेष्ठको कार्यक्रम भएको आफु त्यहाँ ब्यस्त हुँदा घटनाको पुरा विवरण लिन बाँकी रहेको उनले बताए । उनले घटनाकाे अनुसन्धान भइरहेको  जानकारी दिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img