Sunday, September 15, 2024
समाजइजरायलबाट फर्किए २५३ जना नेपाली

इजरायलबाट फर्किए २५३ जना नेपाली

काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।

द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् । आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।

आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ । स्थानीय प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजीकार्य अझ तीब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img