मकवानपुर: सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन बागमतीमा लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरू र साबुन उपहार प्रदान गरिएको छ । बागमती गाउँपालिका वडा नं. ८ का अध्यक्ष इन्द्रमणी तिमल्सिनाले आफ्नै खर्चमा वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गर्दै आएका छन् ।
सोमवार पनि अध्यक्ष तिमल्सिनाले शान्तिपुरकि सुमिता घलानलाई पोसिलो खानेकुरा वितरण गरेका छन् । हालसम्म वडा भित्रका ६ जना आमा (सुत्केरी)लाई अध्यक्षले आफ्नै खर्चमा पौष्टिक आहार सहयोग गरेका छन् ।
वडाभित्रका सुत्केरी महिलाहरूको पोषणमा सुधार ल्याउने उद्देश्यले आफ्नो व्यक्तिगत खर्चबाट पोषण सामग्री उपलब्ध गराएको र साउन १ गतेबाट २०८१ असार मसान्तसम्मका लागि आफूले वडाभित्रका सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गर्ने बताएका छन् ।
उनले जनतालाई समस्या परेको वेला आफूले केही भएपनि राहत होस् भनेर आफ्नो तलबभत्ताबाट पोषण सामग्री वितरण गर्न सुरु गरेको बताएका छन् । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रूपमा लुनुपर्ने पनि अध्यक्ष तिमल्सिनाले बताए ।
त्यस्तै, यो एकदमै राम्रो अभियान भएको र यसलाई अध्यक्षले निरन्तरता दिई राख्नु पर्ने स्थानीय बताउछन ।



