सुनसरी : भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीयको भनाइ छ ।
बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कका स्थानीय सन्तोष तिम्सिनाले जानकारी दिए ।
बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको आठ-दश वर्षमा धेरै बस्ती खाली हुने उहाँको भनाइ छ ।
रामप्रसादराई गाउँपालिका- ४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापित भएका हुन् । बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए ।
दश-बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतङ्क बढेको टेम्केमैयुङ गाउँपालिका- ६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए । बाँदरको कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ ।
बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले ससाना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नको लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको भोजपुर नगरपालिका- ५ का स्थानीय कमला थापाले बताइन् ।
बाँदर आतङ्का कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । यहाँका २० भन्दा बढी घर परिवार बाँदरको कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ ।
बाँदरको व्यवस्थापनको लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए । बाँदर समस्या अन्त्यको लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।