इटहरी / इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई आर्थिक कारोबार गर्न रोक लगाएको छ ।
आर्थिक पारदर्शिताको गुनासो आएको भन्दै उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋणसम्बन्धी कारोबार गर्न रोक लगाएको हो ।
सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै उपमहानगरले आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाएको छ ।
इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए ।
सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई परिपत्र जारी गर्दै बचत तथा ऋणसम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।
१३ औं नगरसभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएकोले बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अबउप्रान्त कारोबार नगर्न–नगराउन आग्रह गरेको मेहताले जनाए ।
अब टोल विकास संस्थालाई सामाजिक कार्यमा क्रियाशील गराइने उनले बताए । हाल इटहरी उपमहानगरका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालनमा रहेका छन् । ती संस्थाहरूले मासिक रूपमा सयदेखि पाँच सय रुपैयाँसम्म बचत संकलन गर्दै आएका छन् । संकलित रकमबाट टोलका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋणमा लगानी गर्ने गरेका छन् । व्याजबाट आएको रकम संस्थाको विकास तथा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् ।