भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक ट्रस भवन सञ्चालन आएको छ ।
गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेका छन् ।
गाउँपालिकाको केन्द्र प्याउलीस्थित स्वास्थ्य चौकीसँग जोडिएको जग्गामा पालिकाको १ करोड ९९ हजार ८ सय ४३ रुपियाँ लागतमा भवन निर्माण सम्पन्नता भएको थियो । गत जेठ २ गतेबाट मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सुरुगरी गत मङ्सिरमा काम सम्पन्न पश्चात् पालिकालाई चाबी हस्तान्तरण गरेपछि गाउँपालिका प्रशासनिक ट्रस भवन उद्घाटन गरेको गाउँपालिका प्रशासकीय अधिकृत मणीराम खतिवडाले बताए ।
उनका अनुसार नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायत शाखाहरूले सेवा प्रवाह गर्ने भएका छन् ।
प्रशासनिक ट्रस भवनको उद्घाटन गर्दै संविधानसभा सदस्य लोकमणि ढकालले भवन निर्माण पालिकाको उपलब्धिमूलक कार्य भएको बताए । नवनिर्मित प्रशासनिक ट्रस भवनबाट पालिकाले प्रवाह गर्ने सेवाहरू निरन्तर, प्रभावकारी, पारदर्शी हुनुपर्नेमा जोड दिए ।
गाउँपालिकाकी उपाध्यक्ष विनीता ढकालले ट्रस भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताइन् । पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा आफूहरू खुसी भएको समेत उल्लेख गरिन् ।
जसका लागि सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको प्राविधिक सहयोगमा वातावरणीय मूल्याङ्कन (डिपीआर) समेत सकिएको छ ।