शिक्षाविद्यार्थीमाथि निर्घात कुटपिट
spot_img

विद्यार्थीमाथि निर्घात कुटपिट

विराटनगर – गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ।

बुधबार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवसीय माविमा कक्षा ८ मा अध्ययनरत् विद्यार्थीलाई पाइपले अन्धाधुन्द शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्।

गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा निलडाम छ।

अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्।

आफ्नो छोरामाथि पटकपटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको आमा कल्पनाले बताइन्। ‘मेरो छोरालाई मात्र होइन, सबैलाई पिट्छन्,’ उनले भनिन्।

छोरालाई उपचार गरेर ल्याएको र दुखाई कम गर्ने औषधी खुवाएको आमा कल्पनाको भनाइ छ।

‘सुरूमा छोराले जिउको निलडाम लुकाएको थियो, पछि जिउ दुख्यो भनेपछि हेर्दा निलडामै निलडाम रहेछ,’ शिक्षकले पाइपले कुटेको कुरा कल्पनाले रुँदै भनिन्, ‘आफूले रातदिन दु:ख-कष्ट गरेर गरेर पढ्न पठाएको छोरा विद्यालयबाट नै असुरक्षित हुन्छ भने कसको मन रुँदैन र?’

‘निलडाम हेरेपछि झस्किएँ, मन धेरै रोयो,’ कल्पनाले भनिन्, ‘त्यसरी त पशुलाई पनि चुटिँदैन।’

शिक्षकको कुटाइबाट छोरालाई दुई-तीन दिन हनहनी ज्वरो आएको उनले सुनाइन्।

छोरालाई समस्या भएपछि मल्हम् किनेर मालिस गरिदिएको उनले बताइन्।

कुटाई खाएका अनुकूलले आफूलाई जस्तै अरूलाई पनि होमवर्क गर्न नजान्दा नगर्दा पाइपै पाइपले कुट्ने गरेको बताए। ‘मैले जानेजति होमवर्क गरेको थिएँ,’ उनले भने, ‘नजानेको स्कुलमा सरले सिकाइदिनुहन्छ भनेको त पिट्नुभयो।‘

अनुकूलका बुवा अर्जुनकुमार श्रेष्ठले आफूले छोरालाई विद्यालय ज्ञानगुनका कुरा सिक्न पठाएको तर त्यसरी पिटाई खानका लागि होइन भन्दै ती शिक्षकलाई कारबाहीको माग गरे।

अभिभावकले यसरी मरणासन्न हुनेगरी विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।

शिक्षा नियमावली अनुसार कक्षामा शिक्षक उपस्थित हुँदा विद्यार्थी कुट्न त के छडी लिएर जान पनि पाइँदैन।

विद्यालय हाताभित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।

सम्झाई-बुझाई गर्नुपर्ने ठाउँमा उल्टै मरणासन्न हुनेगरी कुटपिट गरिएको घटनाप्रति स्थानीय अभिभावकले आपत्ति जनाएका छन्।

निजी विद्यालयमा गुणस्तरीय शिक्षा दिने नाममा जबरजस्ती कुटपिट गर्ने तथा धम्क्याएर पढाउने प्रवृत्ति अन्त्य गर्न अभिभावकले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img