काठमाडौं। सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी विवादास्पद समाचार २४ घण्टाभित्र हटाउन सिधाकुरा डटकमलाई आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सम्बन्धित समाचार र युट्युबमा रहेको भिडियो पनि तत्काल डिलिट गर्न निर्देशन दिएसंगै अहिले उक्त भिडियो सिधाकुराको फेसबुक र युट्युबबाट डिलेट भैसकेको छ ।
यसअघि सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीशहरूसमेतको मिलेमतोबारे आरोप लगाउँदै स्टिङ अपरेसनसम्बन्धी समाचार प्रकाशन गरेको थियो । समाचारमा रंगेहात घुस मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश र न्यायाधीशहरूले बैठक गरेको उल्लेख गरिएको थियो ।
सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम पनि उक्त मुद्दाको अन्तिम निर्णय नभएसम्म नगर्न नगराउन आदेश दिएको छ । सोमबार सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई बयान दिन अदालतमा उपस्थित हुन पनि भनिएको छ।
कानुन व्यवसायीहरूले समाचारको यथार्थता पुष्टि गर्न संलग्नहरूकै बयान लिनुपर्ने बताएका छन् । उनीहरूको भनाइ छ, समाचारले अदालतप्रतिको जनआस्था घटाएको छ र यसको औचित्य नपुगे अदालतको अवहेलनामा कारबाही चल्नुपर्छ।