भोजपुर | भोजपुरलाई छोटो दुरीमा खोटाङ सदरमुकाम दिक्तेल जिल्लासँग जोडने कोट–पाँचधारे सडक खण्ड स्तरोन्नति थालिएपछि स्थानीय उत्साहित भएका छन् । वर्षाको समयमा बढी मात्रामा समस्या हुने टेम्केमैयुङ गाउँपालिका ६ कोट क्षेत्रको करिब सात किलोमिटर सडक स्तरोन्नति थालिएपछि स्थानीय खुसी भएका हुन् ।
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्ने लगायतको काम भइरहेको छ । सडक स्तरोन्नति थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीय बासी हरिकुमार राईले बताए ।
सडक स्तरोन्नति नहुँदा विगतका वर्षहरूमा वर्षाको समयमा धेरै समस्या हुने गरेको स्थानीय बासी तथा वडा सदस्य नवीन श्रेष्ठले जानकारी दिए । सडकको स्तरोन्नति गरिएपछि सहजता हुने उनको भनाइ छ ।
वडाको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु.८० लाख बजेटबाट पिखुवा खोला पुलदेखि वडा ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकोले प्राथमिकता साथ कामलाई अघि बढाएको उनको भनाइ छ ।
निर्माणको कामलाई तीव्र गतिमा अघि बढाएको निर्माण कम्पनी आर एम डी प्रा.ली.ले जनाएको छ । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको कम्पनीका प्रमुख मिलन राईले जानकारी दिए । सडक स्तरोउन्नतीको काम तोकिएको समयमा सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । फागुन महिनामा सम्झौता भएर सडक स्तरोन्नतिका काम थालिएको हो ।