भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको पहिलो बैठक मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ ।
गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुपालन कार्यक्रमलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले कृषकहरुसंगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसा बारी कार्यक्रम सञ्चालन गरी आर्थिक उपार्जनसंग जोड्ने नीति लिएको छ ।
पशुपालन व्यवसायमा कृषकलाई जोडनेका लागि वडा नं १, २, ३ एक कृषक एक उन्नत गाई वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई करिव दुई सय उन्नत जातका गाई वितरण गर्ने जनाइएको छ । जसका लागि विभिन्न शिर्षकमा रु. ६० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै वडा नं ४ मा खुर्सानी ब्रान्डिङ र वडा नं ५ र ६ बाख्रापालनको लागि कार्यक्रम सञ्चालन हुने जनाइएको छ । फुसको छानो हटाउनको लागि प्रत्येक वडामा रु. २० लाखका दरले रु. एक करोड २० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । त्यस्तै तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक कालोपत्रको, प्रशासनिक भवन निर्माणको लागिसमेत बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
सडक कालोपत्रको लागि एक करोड सात लाख र प्रशासनिक भवन निर्माणको लागि रु. एक करोड बजेट विनियोजन गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यहाँको जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताए । केन्द्र सरकारबाट आउने बजेट बर्षेनी घट्दै जाने समस्याको कारण जनताको इच्छा आकाङ्क्षा समेट्न स्थानीय सरकारलाई समस्या हुने गरेको बताए । उपलब्ध भएको बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले जेष्ठ नागरिक घरदैलो कार्यक्रम, युनाइटेड वल्ड स्कुल नेपालसँगको साझेदारीमा बालमैत्री पूर्वाधारसहितको विद्यालय निर्माण गरी सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । अति विपन्न परिवारलाई परिचय पत्र वितरण गरेर आवश्यक सहयोग कार्यक्रम नीति अघि सारेको छ ।
यस अघि सञ्चालनमा रहेको रातो भाले कार्यक्रम, नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी बैठक असार २८ गते बस्ने गरि पहिलो बैठक सम्पन्न भएको छ ।