Friday, January 17, 2025
समाजगृहमन्त्रालयको प्रस्ताव: बर्खामा रात्रिकालीन बस सेवामा रोक

गृहमन्त्रालयको प्रस्ताव: बर्खामा रात्रिकालीन बस सेवामा रोक

काठमाडौं | गृहमन्त्रालयले बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ। यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल भइरहेको छ।

आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले यो प्रस्ताव अघि सारेको हो। मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा. भीष्मकुमार भूसालले बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले यो प्रस्ताव गरिएको जानकारी दिए।

यसअघि २०७९ साल साउनमा पनि रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौं आउने बसलाई रोक लगाएको थियो।

तर यातायात व्यवसायीहरूले भने रात्रिकालीन सेवामा रोक लगाउनु नै जोखिम न्यूनीकरणको उपाय नभएको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रात्रिकालीन सेवा रोक्नुभन्दा सडक सुरक्षाका उपायमा ध्यान दिनुपर्ने बताए। उनले सेवा रोकिंदा हुने घाटा पूर्ति कसले गर्ने भन्ने प्रश्न पनि उठाए।

चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्कालीन बैठक बसेको थियो। सो बैठकमा सहभागीहरूले घटनाको जानकारी लिनुका साथै बर्खाको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने धारणा राखेका थिए। सोही विषयमा थप छलफल गर्न यातायात व्यवसायीहरूलाई बोलाइएको हो।

यो प्रस्तावले यात्रु सुरक्षा र व्यावसायिक हितबीच सन्तुलन कायम गर्ने चुनौती खडा गरेको छ। आगामी दिनमा सरकार र व्यवसायीहरूबीच यस विषयमा थप छलफल र वार्ता हुने अपेक्षा गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img