Saturday, January 18, 2025
समाजत्रिशूलीमा खसेका दुवै बस अझै भेटिएनन्, ६५ यात्रु बेपत्ता

त्रिशूलीमा खसेका दुवै बस अझै भेटिएनन्, ६५ यात्रु बेपत्ता

काठमाडौं | शुक्रबार बिहान सवा ३ बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेर त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै भेटिन सकेका छैनन्। घटनाको लगभग १२ घण्टा बितिसक्दा पनि बस र यात्रुहरूको अवस्था अज्ञात नै छ।

खोजी कार्यमा संलग्न सुरक्षाकर्मीहरूले पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, शिशासहित केही अवशेष भेटाए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रुहरू भेटिन सकेका छैनन्। त्रिशूलीमा आएको बाढीले पानीको करेन्ट एकदमै कडा भएकाले गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा निकै कठिनाई भोगिरहेका छन्।

नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर टोलीहरूले मोटरबोट र र्‍याफ्टबोट प्रयोग गरेर खोजी गरिरहेका छन्। खोजीका क्रममा एउटा हुक त्रिशूलीको सतहमा अड्किए पनि पानी धमिलो भएकाले त्यो बसको भाग हो वा अन्य केही भन्ने एकिन हुन सकेको छैन।

घटनास्थलमा तीनै सुरक्षा निकायका गरी २०० जना सुरक्षाकर्मी परिचालित छन्। सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर खोजी कार्यमा संलग्न छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुवै बसमा चालकसहित ६५ जना सवार रहेको अनुमान गरिएको छ। काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए।

बिहानभरी खोज्दा पनि बस र यात्रुहरू नभेटिएपछि अहिले सुरक्षाकर्मीहरू समीक्षा र नयाँ उपायको खोजीमा लागेका छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img