चितवन | चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ बजे गएको पहिरोले दुई बसलाई त्रिशूली नदीमा खसालेको छ। दुर्घटनामा परेका दुवै बसमा सवार यात्रुहरूको पहिचान खुलेको छ।
प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस दुर्घटनामा परेका हुन्। गणपति डिलक्स बस काठमाडौंबाट गौर जाँदै गरेको थियो भने एन्जल डिलक्स बस वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको थियो।
काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार गणपति डिलक्स बसमा चालक, सहचालक र २९ यात्रु गरी जम्मा ३१ जना सवार थिए। बस किशोर कुमार चौधरीले चलाएका थिए। यात्रुहरूमध्ये धेरैजसो गौरको इनरवारीका रहेको र एक दम्पतीको चारजना बच्चासहित परिवार पनि सवार रहेको जानकारी दिइएको छ।
यात्रुहरूको विवरणमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको पूरा नाम उल्लेख छ भने अन्य यात्रुहरूको नाम नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायत रहेको छ। केही यात्रुहरूको नामबाट एकभन्दा बढी सिट बुक भएको देखिन्छ।
एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु सवार थिए। वीरगन्ज घर भएका चालक जवाहिर महतोले हाँकेको बसमा भारतीय नागरिकहरू समेत सवार थिए। यात्रुहरूमा अन्सारी जी, सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह, साहनबाज आलम, प्रकाश पटेल लगायतका व्यक्तिहरू रहेका छन्।
दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको छ। सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाको टोली खटिएको छ। तर, अविरल वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ।
दुर्घटनामा परेका यात्रुहरूको खोजी र उद्धार कार्य जारी रहेको छ। प्रहरी र स्थानीय प्रशासनले परिवारजनहरूलाई सम्पर्कमा राख्न र आवश्यक सहयोग प्रदान गर्न तयार रहेको जनाएको छ। यस दुःखद घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको छ र पीडित परिवारहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।