हेटौँडा | लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा ठूलो पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको हो। पहिरोको आकार ठूलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिका-१ सिमलाङ स्थित कुलेखानी-मार्खु सडक खण्डमा पनि अविरल वर्षाका कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। यस घटनापछि सशस्त्र प्रहरी पोष्ट मार्खुबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थलमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले भने, “हामीले स्थानीय तह र सडक डिभिजनसँग सहकार्य गरेर बाटो खुलाउने प्रयास गरिरहेका छौँ। कुलेखानी-मार्खु सडक खण्ड खोल्नका लागि सडक विभाग तथा स्थानीय जेसिबी चालकसँग समन्वय भइरहेको छ।”
प्रहरीले काठमाडौं आउजाउका लागि छोटो मार्ग प्रयोग गर्नेहरूलाई वैकल्पिक मार्गको सुझाव दिएको छ। यात्रुहरूलाई सतर्कता अपनाउन र मौसम सुधार नभएसम्म अत्यावश्यक यात्रा नगर्न सुझाव दिइएको छ।