काठमाडौं | पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभरा मन्दिरको वार्षिक आम्दानी करिब ५ करोड रुपैयाँ रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्तामा उनले भने, “वार्षिकरूपमा २ देखि ३ करोडसम्म नगद र अन्य सुन, चाँदी गरी साधारणतया वार्षिक ५ करोड भन्दा बढी आम्दानी हुन्छ।”
तर, संघीय सरकारबाट प्रदेश सरकारको मातहतमा ल्याइएपछि मन्दिर क्षेत्रको विकासमा अन्योल सिर्जना भएको उनले बताए। “प्रदेशले कानून बनाउन सकेको छैन,” हाङबाङले भने।
मन्दिर क्षेत्रमा खानेपानी, विद्युत र शौचालयको समस्या रहेको उनले उल्लेख गरे। साथै, केबलकार निर्माण र मन्दिरको नाम परिवर्तन सम्बन्धी विवादहरू पनि चलिरहेको जानकारी दिए।
हाङबाङले भविष्यका योजनाबारे भने, “मुख्य मन्दिर क्षेत्रका लागि वृक्षारोपण गरेर हरियाली बनाउने र मानव निर्मित संरचना हटाउने अनि यहाँ ढुङ्गाबाट पाथी आकारको पाथीभरा स्वरुपमा फर्काउने हाम्रो योजना छ।”