हेटौँडा | गत २४ घण्टामा बागमती प्रदेशमा विभिन्न घटनाहरू घटेका छन्। प्रदेश प्रहरी कार्यालयको प्रतिवेदन अनुसार, यस अवधिमा २ जनाको शव फेला परेको, १ जनाको मृत्यु भएको र ३ जना घाइते भएका छन्। यसका साथै, बाढी, पहिरो र सवारी दुर्घटनाका घटनाहरू पनि दर्ता भएका छन्।
चितवनमा २ शव फेला परेका छन् भने काभ्रेपलाञ्चोकमा १ जनाको मृत्यु भएको छ। मकवानपुर, रामेछाप र सिन्धुलीमा सवारी दुर्घटनाका कारण ३ जना घाइते भएका छन्। सिन्धुपाल्चोक र नुवाकोटमा बाढी र पहिरोका घटनाहरू भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको बिवरण अनुसार चितवन जिल्लाको नारायणी नदीमा दुई पुरुषको शव फेला परेको छ। पहिलो घटनामा भरतपुर महानगरपालिका-२८ सालवास नजिक नारायणी नदीको बगरमा एक अज्ञात पुरुषको शव फेला परेको थियो। पछि उक्त शवको पहिचान ३० वर्षीय भारतीय नागरिक जय प्रकाश ठाकुरको रूपमा खुलेको छ। दोस्रो घटनामा भरतपुर महानगरपालिका-२६ सिसुवार पोष्ट नजिकै नारायणी नदीमा अर्को एक पुरुषको शव फेला परेको छ, जसको पहिचान अझै खुल्न सकेको छैन।
प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-५ मा ५० वर्षीया सरिता थापाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार, थापाले अत्यधिक मदिरा सेवन गरेकी थिइन्, जसका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो। उनलाई उपचारको लागि स्थानीय शिर मेमोरियल अस्पतालमा लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।
त्यस्तै, मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका-४ मा एक स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा ६५ वर्षीय मोहन प्रसाद आचार्य गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-२ छाप्रामा एक ट्र्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा ट्र्याक्टर चालक २५ वर्षीय पदम भुजेल गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि जिरी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१० थलीमा एक मोटरसाइकलले ४ वर्षीया बालिका सुप्रिया मगरलाई ठक्कर दिएको छ। घाइते बालिकालाई प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ।
गत २४ घण्टामा अन्य घटनाहरू पनि घटेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा भारी वर्षाका कारण इन्द्रावती खोलामा बाढीको जोखिम बढेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले नदी किनारका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। केही परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-५ मा पहिरोका कारण एक गोठमा क्षति पुगेको छ। घटनामा ५ वटा बाख्रा मरेका र ३ वटा घाइते भएको प्रहरीले उल्लेख गरेको छ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-६ मा पहिरोका कारण मध्य पहाडी लोकमार्ग केही समयका लागि अवरुद्ध भएको थियो। प्राविधिक टोलीको प्रयासमा सडक पुनः सञ्चालनमा आएको छ।
मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सतर्कता अपनाउन अपिल गरिएको छ। प्रहरीले कुनै पनि आपतकालीन अवस्थामा तत्काल नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
नोट: बागमती प्रदेश प्रहरीको क्षेत्रमा उपत्यकाका ३ जिल्ला बाहेकका जिल्ला पर्छन् ।