विराटनगर | कोशी प्रदेश खेलकुद विकास बोर्डले आइतबार एक विशेष समारोहको आयोजना गरी राष्ट्रिय स्तरका दुई प्रमुख प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गरेको छ।
१४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड र अन्तर प्रदेश खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ। राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेताहरूले १५ हजार, रजत विजेताहरूले १० हजार र कांस्य विजेताहरूले ७ हजार रुपैयाँ प्राप्त गरे। यस प्रतियोगितामा कुल ४५ जना पदक विजेता र ११ जना प्रशिक्षक तथा व्यवस्थापकहरू सम्मानित भए।
अन्तर प्रदेश खेलकुद प्रतियोगितामा एकल स्पर्धाका स्वर्ण विजेताहरूलाई ५० हजार, रजत विजेताहरूलाई ३० हजार र कांस्य विजेताहरूलाई २० हजार रुपैयाँ प्रदान गरियो। यस प्रतियोगितामा कुल १५३ खेलाडीहरू सम्मानित भए।
समारोहमा दुई वरिष्ठ खेलकर्मी – सन्तोष बानियाँ र मदन उप्रेतीलाई विशेष सम्मान गरियो। साथै, बोर्डको वेबसाइट र लोगो निर्माणमा योगदान पुर्याएका विजय बस्नेतलाई ५१ हजार रुपैयाँ सहित सम्मानित गरियो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो। अन्त्यमा, खेलकुद पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएका छ जना पत्रकारहरूलाई पनि सम्मान गरियो।
यस कार्यक्रमले कोशी प्रदेशमा खेलकुदको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ।