हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा ५० किलोमिटर लामो साइकल यात्रा हुने भएको छ । हेटौँडा राइडर्स क्लबले आगामी श्रावण ५ गते शनिबार “हेटौँडा कोरा-२०२४” नामक साइकल महोत्सवको सातौं संस्करण आयोजना गर्दैछ। पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको यात्रा करिब ५० किलोमिटर लामो यात्रा हुने आयोजक क्लबले जनाएको हो ।
सहभागीहरूले हेटौंडाका प्रमुख धार्मिक स्थलहरू र शहरी क्षेत्रहरूको परिक्रमा गर्नेछन्। यात्रा भुटनदेवी मन्दिरबाट सुरु भई विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरू हुँदै समाप्त हुने हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्याक्रम बारे जानकारी दिँदै आयोजक समुह ।
ताम्राकारका अनुसार, “यो कार्यक्रम केवल एउटा साइकल यात्रा मात्र होइन। यो एक सामूहिक अभियान हो जसले स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक एकताको सन्देश बोकेको छ।”
कार्यक्रममा १२ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्। सहभागिताको लागि भने २ सय रुपयाँ शुल्क लाग्नेछ। सहभागीहरूलाई निःशुल्क जर्सी र समापनमा प्रमाणपत्र प्रदान गरिने ताम्राकारले बताए ।
करिब २ सय ५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिताको अपेक्षा रहेको बताउँदै ताम्राकारले भने, “हाम्रो उद्देश्य हेटौंडालाई साइकलमैत्री शहरको रूपमा विकास गर्नु हो। यसले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै शहरी यातायात समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ।”
यात्राको दौरान सहभागीहरूको सुरक्षा र सहजताको लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी, मेडिकल टिम र साइकल मर्मत टोलीको व्यवस्था गरिएको छ। आयोजकहरूले सबै साइकल प्रेमीहरूलाई यस कार्यक्रममा सहभागी हुन र हेटौंडालाई साइकलमैत्री शहर बनाउने अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।