देशकोशी प्रदेशव्यावसायिक पशुपालन र फलफूलखेतीबाट युवा उद्यमीको सफलता: वार्षिक १० लाख आम्दानी

व्यावसायिक पशुपालन र फलफूलखेतीबाट युवा उद्यमीको सफलता: वार्षिक १० लाख आम्दानी

इटहरी | भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा उद्यमी सुगम राईले व्यावसायिक पशुपालन र फलफूलखेतीबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। विदेशमा सात वर्ष बिताएर फर्किएका राईले आफ्नो अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्दै वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्।

राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरी व्यावसायिक बुंगुरपालनका साथै कागती, एभोकाडो, आँप, अनार र लिची जस्ता फलफूलको खेती गर्दै आएका छन्। उनको फार्ममा हाल ४१ वटा बुंगुर रहेका छन्, जसमा स्थानीय जातका साथै उन्नत जातका हेमसार र धराने कालो बुंगुर पनि समावेश छन्।

“वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म कारोबार हुन्छ,” राईले भने। “खर्च कटाउँदा वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ।” उनले भविष्यमा यो व्यवसायलाई थप विस्तार गरी वार्षिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्य राखेका छन्।

राईको व्यवसायिक सफलताको एक महत्त्वपूर्ण पक्ष भनेको बुंगुरपालन र फलफूलखेतीको एकीकृत प्रणाली हो। उनले बुंगुर फार्मबाट उत्पादन हुने मललाई फलफूलखेतीमा प्रयोग गर्दै आएका छन्, जसले गर्दा लागत घटाउन र उत्पादकता बढाउन मद्दत पुगेको छ।

बजारीकरणको कुनै समस्या नभएको बताउँदै राईले भने, “बुंगुर बिक्रीको कुनै समस्या छैन। धरान, विराटनगरबाट ठेकेदार नै आउँछन्। मागलाई धान्न धौ-धौ छ।”

आफ्नो सफलताको अनुभव बाँड्दै राईले भने, “स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु पर्दैन।” उनले अन्य युवाहरूलाई पनि कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै, आफूले सिकेको सीप अन्य किसानहरूलाई पनि सिकाउँदै आएको बताए।

राईको सफलताले नेपालमा कृषि क्षेत्रको व्यावसायीकरणको सम्भावना र महत्त्वलाई उजागर गरेको छ। उनको अनुभवले देखाउँछ कि मेहनत, योजना र नवीन सोचका साथ कृषि क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img