ओखलढुंगा | ओखलढुंगामा दुई महिने शिशुको विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। सिद्धिचरण नगरपालिका-४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईलाई बालकको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार, आरोपित राईले प्रहरीसमक्षको बयानमा शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको स्वीकार गरेकी छिन्। उनले बालक जन्मेदेखि रोइरहने र दिक्क लगाउने गरेकाले हत्या गरेको बताएकी छिन्।
गत असार ३१ गते चिशंखुगढी गाउँपालिका–८ बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको थियो। अनुसन्धानबाट मृतक शिशु युवराज राई र दीपकुमारी राईको छोरा हिमाल राई रहेको खुलेको छ।
प्रहरीले दीपकुमारीलाई घटना भएकै दिन पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।