हेटौँडा । मकवानपुरको हेटौँडामा सञ्चालित निःशुल्क छात्रवृत्ति परीक्षामा सहभागी भएका पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सानोठिमी भक्तपुरद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत छात्रवृत्ति परीक्षामा यी नक्कली परीक्षार्थीहरू पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार, हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविबाट चारजना र हेटौँडा उपमहानगरपालिका-२ मा रहेको सिद्धार्थ माविबाट एकजना पक्राउ परेका हुन्।
सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषाका २० वर्षीय रमेश यादवलाई बाराका राकेशकुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको छ।
भुटनदेवी मावि परीक्षा केन्द्रबाट बाराका २० वर्षीय नरेन्द्र महतो, चितवनका १५ वर्षीय नाबालक रूपेश यादव, सर्लाहीका १८ वर्षीय राजीवकुमार राउत र रौतहटका १८ वर्षीय लालबाबु सहनी पक्राउ परेका छन्। यी सबैले अरू व्यक्तिहरूको नाममा परीक्षा दिइरहेको पाइएको छ।
प्रहरी उपरीक्षक रिजालका अनुसार, अर्काको नाममा परीक्षा दिनेहरू अधिकांश तराई-मधेशका रहेका छन्। पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।