सुनसरी | सुनसरीको इटहरी वडा नं. १ का ४५ वर्षीय सन्तोष बजगाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि एनआइसियू कक्षमा उपचाररत छन्। एक वर्ष बितिसक्दा पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार आउन सकेको छैन र उनी अझै अचेत अवस्थामा छन्।
बजगाईको परिवार इटहरीको संगीत चोकमा सामान्य चिया पसल गर्दै आएको थियो भने सन्तोष सिटी सफारी चलाउने गर्थे। अस्पताल प्रशासनले बिरामी निकालेर लैजान सकिने जनाए पनि, परिवारले उपचार खर्च तिर्न नसक्दा उनलाई घर ल्याउन सकेका छैनन्।
२०८० साउन २७ गते अस्पताल भर्ना गरिएका बजगाईको तीन दिनपछि एपेन्डिक्सको अपरेशन गरिएको थियो। अपरेशनपछि केही समय सामान्य अवस्थामा रहेका बजगाई अचानक गम्भीर भएपछि एनआइसियूमा भर्ना गरिएको थियो।
परिवारका अनुसार अस्पतालले त्रुटि स्वीकार गरी एनआइसियूको बेड शुल्क नलिने र प्रतिष्ठानभित्रको ल्याबको रकम फिर्ता गर्ने मौखिक वचन दिएको छ। तर फार्मेसीबाट खरिद गरिएको औषधीको रकम तिर्न नसक्दा बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन।
बिरामीकी श्रीमती अञ्जु बजगाईले अस्पतालको लापरवाहीले यस्तो अवस्था आएको दाबी गर्दै फार्मेसीको पैसा अस्पतालले तिरिदिनुपर्ने माग गरेकी छिन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले भने चिकित्सकहरूले मेडिकल गाइडलाइन अनुसार नै काम गरेको बताइन्। उनले लापरवाही भएको लागेमा सम्बन्धित निकायमा उजुरी गर्न सकिने र त्यसका लागि अस्पतालले पनि सहयोग गर्ने बताइन्।