Wednesday, December 4, 2024
समाजसिमलटारमा आजबाट महायज्ञ सुरु

सिमलटारमा आजबाट महायज्ञ सुरु

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । नाग पञ्चमीको दिनबाट सुरु भएको महायज्ञलाई नेपाल सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन् ।

महायज्ञ समुद्घाटन गर्दै बर्तौलाले सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने बताए । जलेश्वर महादेवधामलाई थप विकास गर्दै यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विस्तार गरिने बताए । आफु यसै क्षेत्रको जनप्रतिनिधि भएको नाताले पनि पर्यटन सँगै धार्मिक क्षेत्रको विकासमा आफु सधैं तत्पर रहने बताए ।

उनले सडक सञ्जालका भौतिक विकासका योजनाहरु ल्याउनका साथै सामाजिक र आर्थिक विकाससँग जोडिएका विषयलाई पनि मध्ये नजर गर्दै यस क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सकेको सहयोग दान गर्न सबैलाई आग्रह गर्दै पञ्चमुखी शिवलिङ्ग निर्माणका साथै भगवान् गौतम बुद्धको प्रतिमा राख्ने उद्देश्यले आयोजित महायज्ञको सफलताको कामना समेत व्यक्त गरेका छन् ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको महायज्ञमा विहान जलेश्वरधाम क्षेत्रबाट जल लिएर सिमलटार, कालिवन धादिङ बजार क्षेत्र परिक्रममा गरि महायज्ञ परिसरसम्म कलशयात्रा गरिएको थियो । करिब २ सय महिला तथा पुरुषहरुले कलश यात्रामा सहभागिता रहेको कलशयात्रा उपसमितिका संयोजक बालकुमारी दुलालले बताइन् । कलश यात्रामा ब्रामण्ड बाजा र राधाकृष्ण खैजेडी समूहले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा युवा पण्डित कपिलदेव भट्ट, वडा ५ का वडाध्यक्ष दिपेश दहाल, मकवानपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष विदुर हुमागाई, मूल समारोहका वरिष्ठ उपाध्यक्ष प्रेमनिधि तिमल्सिना लगायतले महायज्ञ सफलता सहितको शुभकामना भनाई राखेका थिए ।

कार्यक्रममा उपकथा वाचक पण्डित डेगनाथ ढकाल, अग्नि आचार्य गुरु प्रकाश भट्ट, १००८ भागवत संकल्पक पण्डित श्यामसुन्दर आचार्य, समाजसेवी चन्द्रप्रसाद दुलाल, ईन्द्रबहादुर बस्नेत, सिमलटार टोल विकास संस्थाका अध्यक्ष श्यामप्रसाद लामा, अस्थायी प्रहरी चौकी धादिङका प्रमुख गगेन्द्रप्रसाद कुर्मी लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

हिन्दुधर्मालम्बी र बौद्ध धर्मालम्बीको भगवानहरु महादेव र गौतम बुद्धको पुजाआजा गर्ने स्थान एकै क्षेत्रमा रहोस् भन्ने साझा उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेले बताए ।

दैनिक ११ बजे कथा वाचन हुने आयोजकले जनाएको छ । विहान पाठपारायण कार्य सकिए लगत्तै कथा सुरु हुनेछ । संगीतमय कथा वाचनका साथै भजनकिर्तन कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img