धर्म/संस्कृतिसाउन अन्तिम सोमबार: पशुपतिनाथमा दुई लाखभन्दा बढी भक्तजनको दर्शन

साउन अन्तिम सोमबार: पशुपतिनाथमा दुई लाखभन्दा बढी भक्तजनको दर्शन

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड लागेको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार बिहान ४ बजेदेखि राति ८ बजेसम्म दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

विशेष गरी सुन्दरीजलबाट बोलबम यात्रा गरी आएका भक्तजनका कारण मन्दिर परिसरमा निकै घुइँचो लागेको थियो। दर्शनार्थी र बोलबम यात्रीहरूको सुविधाका लागि कोषले मन्दिरका चारै ढोका बिहानैदेखि खुला गरेको थियो।

साउन महिनामा हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ। यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन रहेको छ।

भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवकको संख्या बढाइएको छ। साथै स्वास्थ्य शिविर र खानेपानीको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।

काठमाडौं उपत्यकाका अन्य शिवालयहरू जस्तै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वर तथा काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट र म्याग्दीको गलेश्वरमा पनि भक्तजनको भीड लागेको छ।

यसैबीच, दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे। उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गर्दै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्राम र पशुपति क्षेत्रका सम्पदाबारे लिखित पुस्तक उपहार दिएका थिए।

मिस्रीले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताउँदै यो पवित्र स्थल नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीक भएको उल्लेख गरे।

भारतीय विदेश सचिव मिस्रीले आफ्नो दुई दिने भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए। उनी आज साँझ स्वदेश फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img