हेटौँडा । नेपाल शिक्षक महासंघ मकवानपुरले हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले शिक्षक बैंक र व्यवस्थापनमा एकलौटी गरेको आरोप लगाउँदै उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
२०८१ असार १ गते प्रकाशित राजपत्रमा उल्लेखित शिक्षक बैंक र शिक्षक व्यवस्थापन कार्यविधि २०८१ अनुसार कार्यान्वयन नभएको र विज्ञ शिक्षकहरूलाई सूचीकृत नगरिएको महासंघको आरोप छ ।
नेपाल शिक्षक महासंघ हेटौँडा नगर समिति र अन्य पेशागत संस्थाका प्रतिनिधिहरूले नगर उप-प्रमुख राजेश बानियाँ, सामाजिक महाशाखा संयोजक रामकृष्ण कोइराला र कार्यकारी प्रमुखलाई ६ वटा सकारात्मक र १४ वटा सुधार गर्नुपर्ने पक्षहरू समावेश गरिएको ध्यानाकर्षण पत्र बुझाएका छन्।
उपमहानगरपालिकाका पदाधिकारीहरूले शिक्षक बैंक र व्यवस्थापनमा केही त्रुटिहरू भएको स्वीकार गर्दै यस सम्बन्धमा सबै सरोकारवालाहरूसँग छलफल गरी कार्यविधि सच्याइने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, हेटौँडा उपमहानगरपालिकाका शिक्षा निर्देशक सीताराम कोइराला पनि विवादमा तानिएका छन्। स्रोतका अनुसार, उनी यसअघि काठमाडौँ र भरतपुर महानगरपालिकामा कार्यरत रहँदा पनि विवादमा परेका थिए र दुवै महानगरले उनलाई स्पष्टीकरण सोधेको जनाइएको छ।