हेटौँडा | हेटौडा उपमहानगरपालिकाको वडा नं. ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ। भाद्र १ गते यस वडालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ।
मंगलबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष दामोदर गौतमले १ गते शनिवार हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री वडा घोषणा कार्यक्रम गरिने जानकारी दिएका हुन् ।
वडाध्यक्ष गौतमका अनुसार नेपाल सरकारले तोकेका ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने थियो। यी सूचकहरूमध्ये ४६ वटा सूचक पूरै (१००%) पूरा भएका छन् भने बाँकी ५ वटा सूचक आवश्यक न्यूनतम मात्रामा पूरा भएका छन्। यसरी, वडाले बालमैत्री स्थानीय शासनका लागि आवश्यक सबै मापदण्डहरू पूरा गरेको उनले जानकारी दिए ।
वडाध्यक्ष गौतमले बालमैत्री स्थानीय शासन घोषणाका लागि वडाले पाँच प्रमुख क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए। यी क्षेत्रहरूमा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास पर्दछन्। बाल संरक्षणको क्षेत्रमा विशेष ध्यान दिइएको छ, जसमा बालविवाह, बालश्रम र बाल दुर्व्यवहार विरुद्ध अभियानहरू चलाइएका छन्। साथै, विद्यालय र समुदायमा यी विषयमा सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्।
वडाध्यक्ष गौतमले बालबालिकाको महत्त्वबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दै भने, “बालबालिकालाई भोलिका कर्णधार मात्र नभई आजैका साझेदारको रूपमा विकास गर्न हामी प्रयत्नशील छौं।” उनले बालमैत्री वडा घोषणापछि पनि यसको दिगोपनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।
वडाले २०८० वैशाख २५ गते पूर्ण खोप, २०७३ भाद्र ३० गते पूर्ण साक्षरता र २०६७ चैत्र २१ गते खुल्ला दिसा मुक्त वडा घोषणा गरिसकेको वडाध्यक्ष गौतमले जानकारी दिए ।
हेटौडा उपमहानगरपालिकाको वडा नं. ७ मा १८ वर्षमुनिका १८ सय ९८ बालबालिका रहेका छन्, जसमध्ये १ हजार एक बालक र ८ सय ९७ बालिका छन्। यहाँ १० वटा बाल समूह र एक वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ, जसमा २ सय ५० जना बालबालिका आबद्ध छन्। विभिन्न संरचनागत समितिहरूमा समेत गरी जम्मा २ सय ६२ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको वडाले जनाएको छ ।
वडाले बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। यहाँ दुई वटा विद्यालयमा बाल विकास केन्द्र सञ्चालनमा छन्। विद्यालयहरूमा छात्र-छात्राका लागि अलग-अलग शौचालय, सेनेटरी प्याड वितरण, र खेलकुद सामग्री वितरण गरिएको छ। वडाले बालबालिकाको क्षेत्रमा यस वर्ष मात्र २७ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
यो पनि: