Friday, December 6, 2024
समाजनाम काफी, प्रविधि बासी: गत वर्षमा ५२ दिन, यस वर्ष १ दिन

नाम काफी, प्रविधि बासी: गत वर्षमा ५२ दिन, यस वर्ष १ दिन

कोइला र मेशिनको अभावले ठप्प हेटौंडा सिमेन्ट

हेटौंडा | एक समय जनकपुरबाट आएर हेटौंडामा घर बनाइरहेका दीपक साह हेटौंडा सिमेन्ट पाउन सोर्सफोर्स नै लगाउनुपर्ने अवस्था रहेको गुनासो गरेका थिए । उनले आफ्नो घरको छत ढलानमा हेटौंडा सिमेन्ट प्रयोग गर्न खोज्दा पाउँदै नपाएपछि निजी कम्पनीको सिमेन्ट प्रयोग गर्न बाध्य भएको गुनासो सुनाएका थिए ।

“पिल्लरका लागि त बल्ल बल्ल पाए”,’ उनले भने-छतका लागि धेरै दिन कुर्नुपर्ने भयो अनि अर्को प्रयोग गर्न कर लागिहाल्यो । उद्योग भने डिलरहरुबाट नियमित वितरण भए पनि माग उच्च भएकाले त्यस्तो गुनासो आउने गरेको स्पष्टीकरण दिएको थियो । उद्योगबाट उत्पादन नहुँदै मागले घेरिने भएकाले यसलाई बजारको कुनै चिन्ता थिएन । बरु, हेटौंडा सिमेन्टको विश्वसनीयता उच्च हुँदा यसको कालोबजारी भने हुने गरेको थियो ।

सरकारी स्वामित्वको यही हेटौंडा सिमेन्ट उद्योग हाल गम्भीर संकटको भुमरीमा फसेको छ । आर्थिक वर्ष २०८०/०८१ मा उद्योग ५२ दिनमात्र सञ्चालनमा रहेको तथ्यांकले सरकारी स्वामित्वको उद्योग चिन्ताजनक अवस्था रहेको देखाएको हो । हाल पनि उद्योग लगातार चार महिनादेखि बन्द छ, जसले गर्दा यसको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ ।

उद्योगका प्राविधिक फाँटका नितिन कणर्ले दिएको जानकारी अनुसार गत वर्ष उद्योग भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा ८ दिन र फागुनमा १५ दिनमात्र सञ्चालनमा रहेको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा उद्योग एक दिनमात्र सञ्चालन भइ १ सय ५८ टन क्लिंकर उत्पादन गरेको थियो । त्यसपछि उद्योग पुनः बन्द अवस्थामा छ ।

उद्योगका महाप्रवन्धक वसन्तकुमार पाण्डेले कोइला अभाव र पुराना उपकरणको समस्याले उद्योग सञ्चालनमा ल्याउन कठिन भएको बताए । उनका अनुसार कोइला आपूर्तिकर्तालाई ठूलो रकम बक्यौता रहेकाले कोइला आपूर्ति ठप्प भएको छ । हाल उद्योगसँग भएको स्टक कोइलाले १०-१५ दिनमात्र उद्योग सञ्चालन गर्न पुग्ने अवस्था छ, जुन दीर्घकालीन समाधान होइन । धेरैजसो मेशिनरी पुराना भएका कारण बारम्बार बिग्रने र मर्मत गर्नुपर्ने अवस्थाले गर्दा उत्पादन नियमित हुन सकेको छैन ।

लगभग १ सय ८० स्थायी र सय भन्दा बढी ज्यालादारी कर्मचारी हाल कामविहीन अवस्थामा छन् । उद्योगको वर्तमान गतिविधि केवल बाँकी रहेको सिमेन्ट स्टक बिक्री गर्नेमा सीमित छ । उद्योगका नायब प्रवन्धक नवीन कणर्का अनुसार हाल उद्योगमा लगभग २० हजार बोरा सिमेन्ट स्टक छ र १२-१३ सय टन कोइलामात्र बाँकी छ, जुन १५-२० दिनको उत्पादनका लागिमात्र पर्याप्त हुनेछ ।

विज्ञका अनुसार उक्त समस्याको समाधानका लागि सरकारद्वारा तत्काल आर्थिक सहयोग, कोइला आपूर्तिकर्ताहरुसँग दीर्घकालीन सम्झौता, पुराना मेशिनरीको आधुनिकीकरण र कुशल व्यवस्थापन तथा कार्यक्षमता वृद्धि जस्ता कदम आवश्यक छन् । यदि यी समस्याको समयमै समाधान नगरिए नेपालको एक प्रमुख सरकारी उद्योग बन्द हुने खतरा छ, जसले देशको अर्थतन्त्र र रोजगारीमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले सरकार, उद्योग व्यवस्थापन र सम्बन्धित सरोकारवालाले यस विषयमा गम्भीर ध्यान दिइ शीघ्र कार्ययोजना बनाउनु अत्यावश्यक देखिएको छ ।

नेपालमा यस्ता थोरै उत्पादन छन्, जुन नामले नै अब्बल मानिन्छन्, जब तिनको नाम सुनिन्छ, तब अरु उत्पादन फिका लाग्छन्, यही विरासत बोकेको एउटा उत्पादन हो हेटौंडा सिमेन्ट । बजारमा दर्जनौं ब्राण्डका सिमेन्ट छन् । तर, हेटौंडाका सुमन रायमाझीको भनाइमा हेटौंडा सिमेन्टको विश्वसनीयतालाई उछिन्ने र त्यसलाई विस्थापित सिमेन्ट अझै बजारमा छैनन् । “हामी त बाध्यतामा अरु सिमेन्ट प्रयोग गर्छौं, रहरमा त हेटौंडा सिमेन्ट नै हुन्छ,” उनी भन्छन् । तर, नामले नै अब्बल रहेको हेटौंडा सिमेन्टको उत्पादन र बजार समायानुकूल विस्तार भएन । जसले गर्दा हेटौंडा सिमेन्टको बजार खुम्चियो, अरु सिमेन्टले बजार फैलाए ।

पुरानो भवन, पुरानै प्रविधि र पुरानै ग्राहकबीच हेटौंडा सिमेन्ट आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्दैछ । यसको नाम र विश्वास अझै फैलिन त पाएको छैन, तर पनि यसप्रति प्रयोगकर्ताको विश्वास अझै मरेको छैन ।

धेरैलाई थाहा नहुन सक्छ, हेटौंडा सिमेन्ट सरकारी उद्योग हो । यसले शक्ति नामको ब्राण्डमा सिमेन्ट उत्पादन गर्छ । यही नामको फाइदा उठाउन शक्तिको अघि र पछि अन्य शब्द थपेर सिमेन्ट उत्पादन गर्ने कम्पनी पनि प्रशस्त छन् । तर, धेरैले याँहाको उत्पादनलाई हेटौंडा सिमेन्ट भनेर नै चिन्छन् । यो सिमेन्ट नेपालमा उत्पादन हुनेमध्ये सबभन्दा गुणस्तरीय हो भन्नेमा सायद कसैलाई आशंका होला ।

“उत्पादनका क्रममा गुणस्तरमा कुनै पनि सम्झौता गर्दैनौं । हामीलाई सरकारी कम्पनी भएकाले सुरुदेखि नै विश्वास बढी गरिन्छ । त्यसलाई कायम राख्नु नै हाम्रा लागि चुनौती हो,” एक अधिकृतले भने । उद्योगका एक इञ्जिनियरका अनुसार थोरै रासायनिक वा गुणस्तर मापदण्ड नपुगेका सिमेन्टलाई ल्याबले अस्वीकार गर्छ । ल्याबले हुँदैन भनेका सिमेन्ट बोरामा भरिदैन, सीधै डम्पिङ गरिन्छ । यसो गर्दा गुणस्तरहीन सिमेन्ट बजारमा पुग्दैन । निजी उद्योगमा ल्याबले नेगेटिभ देखाए पनि नाफाका लागि बजार पठाउने गर्दा गुणस्तरमा प्रश्न उठ्ने गरेको उनको तर्क छ ।

हेटौंडा सिमेन्ट उद्योगको आफ्नै इतिहास छ । हेटौंडाको लामसुरेहाइटमा २०३२ सालमा स्थापना भएको हो, यस उद्योग । व्यावसायिक उत्पादन भने ०४२ बाटमात्र सुरु भयो । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा स्थापित उद्योगको उद्घाटन तत्कालीन राजा वीरेन्दै आफैं आएर गरेका थिए । त्यतिबेला नेपालकै दोस्रो ठूलो उद्योगका रुपमा परिचित थियो हेटौंडा सिमेन्ट उद्योग । उद्योगबाट जब उत्पादन सुरु भयो, तबमात्र देशभित्र सिमेन्ट उत्पादनको सम्भाव्यता पुष्टि भयो । भारतीय बजारको परनिर्भरतालाई तोड्न सकिने आधार यसबाट मिल्यो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img