इटहरी | इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको काम गर्ने नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीमा रहेका यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालय क्षेत्रबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा नक्कली डाक्टरसहित १७ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र र सवारी साधन नामसारीका लागि आउने सेवाग्राहीसँग मोटो रकम असुल गर्दै आएको गुनासो आएपछि प्रहरी परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
बिचौलियाको काम गर्ने १७ जनालाई पक्राउ गरेका छौ, उहाँहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ, डीएसपी कार्कीले भने ।
उनले जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी इलाका प्रहरी कार्यालय इटहरीको टोली परिचालन गरी एक जना नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा लिएको बताए। नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
यातायात व्यवस्था कार्यालय (सवारी) र इटहरी सवारी तथा यातायात व्यवस्था कार्यालय इटहरी (सवारी चालक अनुमति पत्र) मा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता वेदराज फुयँलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सेवाग्राहीको गुनासो बढेपछि उनकै नेतृत्वमा अनुगमनसमेत गरिएको थियो ।