हेटौँडा| हेटौँडा-काठमाडौं सडक अन्तर्गत त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधनको आवतजावतमा अस्थायी रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको सूचना जारी गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले असोज १७ गते राति सवा नौ बजेदेखि असोज १८ गते बिहान ५ बजेसम्म त्रिभुवन राजपथको चित्लाङ–थानकोट हुँदै काठमाडौंतर्फ जाने सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवतजावतमा निषेध गरेको छ। सो सडकखण्ड हाल वर्षाको कारणले अप्ठ्यारो र चिप्लो भएकोले यात्रुहरूको सुरक्षाका लागि सवारी आवागमन रोकिएको जनाइएको छ।
यस्तै, पालुङ–नौबिसे सडकखण्डमा भने साना सवारी साधनहरू सुचारु राखिएको छ। तर, रातको समयमा वर्षा भएमा यो सडकखण्डमा समेत सवारी साधनको आवतजावतमा रोक लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्बन्धित यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सावधानी अपनाउन आग्रह गरिएको छ।