हेटौँडा | ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ शनिबार हेटौंडा उपमहानगर वडा नम्बर– ११ ले बालमैत्री वडा घोषणा गरिने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ११ नम्बर वडाका वडा अध्यक्ष जुना दाहालले निष्कृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको बताइन् ।
अध्यक्ष दाहालले बालमैत्री वडा घोषणा पश्चात पनि बालबालिकाको क्षेत्रमा उचित र आवश्यक लगानीमा वडा तत्पर रहने बताईन् । ‘हामी यस अभियानलाई दिगो रुपमा अघि लानेछौ, बालबालिकामा निगरानी राखि उनीहरुको भविष्य उज्वल बनाउनेछौ’ । उनले भनिन्
वडाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत १ वटा सुचक ९७, १ वटा ९५, १ वटा सुचक ९०, १ वटा सुचक ८१ र १ वटा सुचक ८० प्रतिशत सम्म नतिजा हासिल भएको अध्यक्ष दाहालले बताइन् ।
वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार कुल ११ हजार १ सय ५ जनसङ्ख्या रहेको छ । जसमा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ४ सय १७ रहेको छ । जसमा १ हजार ७ सय ९८ बालक र १ हजार ६ सय १९ बालिका रहेको वडा बाल सहजकर्ता क्रिस्टिना मैनालीले बताईन् । उनले समुदाय स्तरमा २५ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेको छ । जसमा ६ सय २५ जना बालबालिकाहरु आवद्ध रहेको बताईन् ।
२०७९ देखी वडामा अभियान सञ्चालन गरिएको र उक्त अवधिमा वडाका विभिन्न स्थानहरुबाट बालश्रमिकहरुको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ भने बालविवाहहरु रद्ध गरिएको वडाअध्यक्ष दाहालले बताईन् । यस अभियानमा गत आव र चालु आवमा गरी करिब ९ लाख भन्दा बढी खर्च भएको जानकारी दिईन ।
पत्रकार सम्मेलनमा वडा सदस्य सञ्जय विडारी, विकास नेपाल, गोपिनी सापकोटा, गीता सुनार, नगरपालिकाका महिला तथा बालबालिका शाखाका बिना थिङ, टोल विकास नगर समन्वय समितिका महासचिव देवकुमार श्रेष्ठ, वडा सचिव जीवन ढुङ्गेल, ग्रामीण असाहय बालविकास केन्द्रका सुमित्रा काफ्ले लगायतको उपस्थिती रहेको थियो ।
यस अघि वडालाई पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा समेत गरिसकेको छ।