हेटौँडा | विजया दशमी लगायतका चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नं. १४ ले दुर्घटनाहरू न्यूनीकरण गर्न र नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिने गरी विभिन्न कदमहरू चालेको छ । यस अभियानको मुख्य उद्देश्य सवारी साधनको चेकजाँच, यात्रुहरूको भाँडाको दर निगरानी, मादक पदार्थ सेवन जाँच, भीड नियन्त्रण, र विपद् व्यवस्थापनमा केन्द्रित रहेको छ।
सशस्त्र प्रहरीले सवारी गस्ती, पैदल गस्ती, साना तथा ठुला सवारी साधनहरू रोकी यात्रुको अवस्था र भाँडाको दर यकिन गर्दै छानबिन गर्ने योजना ल्याएको छ। यात्रुहरूबाट महँगो भाँडा लिएको पाइएमा तुरुन्तै आवश्यक कारबाही गरिने बताईएको छ । रातको समयमा भीडभाड नियन्त्रण गर्न, शान्ति सुरक्षामा कुनै पनि कमी कमजोरी हुन नदिनका लागि अतिरिक्त सुरक्षा व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नं. १४ का गणपति ज्ञान प्रसाद भुर्तेलले बताए ।
विशेषगरी लामो दूरीका सवारी साधनहरूलाई रोकि यात्रुको अवस्था बुझ्ने र सवारीमा कुनै समस्या भएमा तुरुन्तै समाधान गर्ने व्यवस्था गरिएको उनले बताए । चाडपर्वका समयमा सिट क्षेमताभन्दा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई विशेष निगरानीमा राखिएको छ, जसमा मापसे चेकिङ अभियान थप सशक्त बनाइनेएको उनले बताए ।
यदि कतै पहिरो गएको अवस्थामा तत्काल पहिरो हटाई वैकल्पिक मार्ग बनाइने र यात्रा सहज बनाइने व्यवस्था समेत गरिएको छ। विपद् व्यवस्थापनमा कुनै कमी हुन नदिनका लागि क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ, जसले विपद् आएको खण्डमा तुरुन्तै समाधानको व्यवस्था मिलाउने उनले बताए ।
कालोबजारी नियन्त्रणका लागि कुनै जानकारी प्राप्त भएमा तुरुन्तै कारबाही गर्न समेत तयारी गरिसकिएको छ। यो चाडपर्वमा नागरिकलाई सुरक्षित र सहज यात्रा अनुभव गराउन सशस्त्र प्रहरीको मुख्य लक्ष्य भनेको बाटो-घाटोलाई सहज बनाउनु रहेको उनले बताए ।

यसै अभियान अन्तर्गत, स्थानीयहरूको अनुरोधमा पिङ लगाउने परम्परालाई सुरक्षित राख्न पनि सशस्त्र प्रहरीले विशेष पहल गरेको छ। रातोमाटेमा एयर एम्बुलेन्सको सुविधा र बिभिन्न क्षेत्रमा नागरीक सहायता कक्ष स्थापना गरी आपतकालीन सेवा उपलब्ध गराइने भएको छ।
सशस्त्र प्रहरी बल नं. १४ ले आगामी दिनमा पनि चाडपर्व लक्षित सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्ध रहेको उनले बताए ।



