हेटौँडा | मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। साथै यस घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार असोज २२ गते बिहान, प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्टमा एक ट्याङ्कर गाडीलाई नियन्त्रणमा लिएको थियो।
पूर्व-पश्चिम लोकमार्गमा पालुङबाट बीरगंजतर्फ गइरहेको ना ७ ख १७७१ नम्बरको उक्त ट्याङ्कर गाडीको विस्तृत जाँच गर्दा, गाडीको तेस्रो डिब्बाभित्र २५ वटा शंकास्पद पोकाहरू फेला परेका थिए। तत्काल गरिएको परीक्षणमा ती पोकाहरूमा कुल ३ सय ९२ किलोग्राम लागूऔषध गाँजा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता स्याम आर्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुरको मनहरी गाउँपालिका-९, ज्यामिरेका २६ वर्षीय रोशन पुरी र सहचालक बताउने सोही ठाउँका २२ वर्षीय धन बहादुर मल्ल रहका छन् ।
मकवानपुर प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरू, बरामद गरिएको लागूऔषध र ट्याङ्कर गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।