हेटौँडा | फेसबुकले अक्टोबर २०२४ बाट ‘इन-स्ट्रीम एड्स’ कार्यक्रमका लागि आवेदन स्वीकार गर्न बन्द गर्ने घोषणा गरेको छ। यो कार्यक्रम सर्जकहरूले आफ्ना भिडियोहरूमा विज्ञापन राखेर कमाई गर्ने लोकप्रिय माध्यम थियो।
फेसबुकले नयाँ ‘कन्टेन्ट मोनेटाइजेशन’ अनुभव ल्याउँदै यसलाई, ‘इन-स्ट्रीम एड्स’, ‘एड्स अन रिल्स’, र ‘परफर्मेन्स बोनस’ कार्यक्रमसँग एकीकृत गर्दै विभिन्न प्रकारका सामग्रीहरूबाट आम्दानी गर्न सजिलो बनाउने योजना सार्वजनिक गरेसँगै केही आईडी हरुमा नयाँ मोनेटाइजेशन फिचर समेत आईसकेको छ ।
अब एउटा मात्र कार्यक्रमले सबै प्रकारका सामग्रीलाई समेट्नेछ। फेसबुकले सर्जकहरूलाई यो सरल र प्रभावकारी बनाउन चाहेको बताएको छ । अब केरेटरले आफ्ना भिडियो, रिल्स, फोटो र टेक्स्ट पोस्टहरूबाट एउटै माध्यमबाट आम्दानी गर्न सक्ने छन् ।
अहिले फेसबुकले ‘फेसबुक कन्टेन्ट मोनेटाइजेशन’ कार्यक्रमको बीटा संस्करण ल्याएको छ, जसमा केही सर्जकहरूलाई मात्र निमन्त्रणा गरिएको छ। यो बीटा संस्करण २०२५ सम्म निमन्त्रणा-आधारित मात्र हुनेछ, तर इच्छुक सर्जकहरूले फेसबुकको एउटा फारम भरेर यसमा सहभागी हुने इच्छा व्यक्त गर्न सकिने व्यवस्था फेसबुकाले गरेको छ ।
हालसम्म नेपाल यो नयाँ मोनेटाइजेशन प्रणालीका लागि योग्य सूचीमा छैन, तर नेपालमा केरेटरको संख्या उल्लेखनीय छ, र धेरै सर्जकहरूले ‘इन-स्ट्रीम एड्स’ र ‘एड्स अन रिल्स’ जस्ता कार्यक्रमहरूबाट आम्दानी गरिरहेका छन्।
नेपालमा विभिन्न युट्युबर, कन्टेन्ट क्रिएटर र डिजिटल मार्केटरहरूले फेसबुकबाट पैसा कमाउने माध्यमको रूपमा ‘इन-स्ट्रीम एड्स’ प्रयोग गर्दै आएका छन्। यसले छोटो र लामो भिडियोहरूमा विज्ञापन राखेर पैसा कमाउने अवसर प्रदान गर्दै आएको छ। त्यस्तै, ‘एड्स अन रिल्स’ कार्यक्रमले पनि छोटो भिडियोहरू, जस्तै रिल्सहरूमा विज्ञापन राखेर कमाई गर्ने मौका दिएको छ।
तर, अब यी सबै कार्यक्रमहरू ‘फेसबुक कन्टेन्ट मोनेटाइजेशन’मा समेटिनेछन्। सर्जकहरूले एक पटक यो नयाँ बीटा कार्यक्रममा सहभागी भएपछि पुराना मोनेटाइजेशन कार्यक्रमहरूमा सहभागी हुन, पुन: सामेल हुन, वा जारी राख्न सक्ने छैनन्।
फेसबुकले यो बीटा कार्यक्रममा सामेल सर्जकहरूलाई उनीहरूको सामग्रीको प्रदर्शनका आधारमा आम्दानी गर्न सक्षम बनाउने बताएको छ। यसको अर्थ, सर्जकहरूले आफ्ना भिडियो, रिल्स, फोटो र टेक्स्ट पोस्टहरूमा बढी दर्शक संख्यालाई ध्यानमा राखेर पैसा कमाउन सक्नेछन्।
नेपालका सर्जकहरूका लागि यो परिवर्तनले केही चुनौतीहरू ल्याउन सक्छ, किनकि नेपाल अहिले नयाँ मोनेटाइजेशन प्रणालीमा अटेको छैन। तर, यदि फेसबुकले भविष्यमा नेपाललाई योग्य सूचीमा समेट्छ भने नेपाली सर्जकहरूले पनि यो अवसरबाट लाभ उठाउन सक्नेछन्। अहिलेका लागि, उनीहरूले फेसबुकको बीटा कार्यक्रममा सहभागी हुने इच्छुक फारम भर्न र निमन्त्रणा पर्खनुपर्नेछ। KFGVRFI34