Monday, April 21, 2025
समाजबाढी, पहिरो र डुबान पीडितलाई ५ करोड ४६ लाख राहत वितरण, १२...
spot_img

बाढी, पहिरो र डुबान पीडितलाई ५ करोड ४६ लाख राहत वितरण, १२ परिवार अझै वञ्चित

काठमाडौं । गृह मन्त्रालयले असोज दोस्रो सातामा आएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएका नागरिकका परिवारलाई राहत रकम वितरण गरेको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार यो विपद्को परिणामस्वरूप ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको हो। प्रत्येक परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले जम्मा ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको छ।

तर, केही परिवारले भने राहत पाउन सकेका छैनन्। तिवारीले १२ जना मृतकका परिवारले पारिवारिक विवरण यकिन नहुनु, कानूनी हकदार नहुनु वा आवश्यक कागजात पूरा हुन नसक्नेजस्ता कारणले राहत पाउन बाँकी रहेको जानकारी दिए। यसबारे मन्त्रालयले छिट्टै थप आवश्यक प्रक्रिया पूरा गरेर बाँकी राहत वितरण गरिने बताए ।

सबैभन्दा बढी काभ्रेका पीडित परिवारले राहत पाएका छन्, जहाँ ७९ जना मृतकमध्ये ७८ परिवारलाई राहत रकम वितरण गरिएको छ। ललितपुरका ४६ मध्ये ४५ परिवारले राहत पाएका छन् भने धादिङ, काठमाडौं, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका मृतक परिवारलाई पनि राहत दिइएको छ। सोलुखुम्बु, भक्तपुर, रौतहट, सर्लाही, सिन्धुली, झापा, महोत्तरी, रुपन्देही, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका मृतक परिवारलाई समेत यो राहत रकम वितरण भएको छ।

विपद्का बेला १७७ जना घाइते भएका थिए भने अझै १८ जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ। मन्त्रालयले बेपत्ता नागरिकहरूको खोजी कार्य जारी राखेको र घाइतेहरूको उपचारमा सहयोग भइरहेको बताएको छ। मन्त्रालयले राहत वितरणमा देखिएका चुनौतीहरू समाधान गर्दै पीडित परिवारलाई सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रवक्ता तिवारीका अनुसार भविष्यमा विपद्को सामना गर्न स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको समन्वयमा थप तयारी र प्रभावकारी योजनाहरू लागू गरिनेछ। मन्त्रालयले राहत वितरणसँगै दीर्घकालीन पुनर्स्थापनाका कार्यक्रमहरू पनि अघि बढाउने योजना बनाएको छ, जसले बाढी, पहिरो जस्ता विपद्बाट प्रभावित समुदायलाई दीर्घकालीन सहयोग पुर्‍याउन सकियोस्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img