अर्थ व्यापारझापाबाट ११ करोडको चिया भारत निर्यात

झापाबाट ११ करोडको चिया भारत निर्यात

झापा | नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ। तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट यो आम्दानी भएको हो।

एनएमसीले गुणस्तरीय चिया उत्पादन र किसानको आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्दै चियाखेतीलाई प्रोत्साहित गरिरहेको छ। “चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ। हामी किसानबाट पत्ती खरिद गरी चिया उत्पादन गर्दै आएका छौँ,” संस्थाका व्यवसाय प्रमुख रविन्द्र पाण्डेले जानकारी दिए।

संस्थाले इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा तीनवटा चिया प्रशोधन कारखाना सञ्चालन गरिरहेको छ। इलाममा उत्पादित हरियोपत्तीलाई उच्च गुणस्तरको मान्यता दिँदै संस्थाले त्यसैलाई मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गर्दै आएको छ।

संस्थामा तीन सय ५० जना किसान आबद्ध छन्, जसले चियाखेतीमार्फत नियमित आय आर्जन गर्दै आएका छन्। चिया व्यवसायमा कुल रु १३ करोड लगानी भएको र हाल ५२ जनाले प्रत्यक्ष रोजगारी पाएको संस्थाले जनाएको छ।

एनएमसीले ‘ब्ल्याक टी’, ‘अर्थोडक्स टी’, र ‘ग्रीन टी’ उत्पादन गर्दै आएको छ। संस्थाका अनुसार उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमै खपत हुने र बाँकी भारत लगायतका बजारमा निर्यात गरिन्छ।

सहकारीले किसानबाट सोझै चियापत्ती खरिद गरी उनीहरुलाई नियमित र समयमा भुक्तानी उपलब्ध गराउँदै आएको छ। किसानहरुले हरेक महिनाको १५ गते सहज रुपमा अघिल्लो महिनाको भुक्तानी प्राप्त गर्ने प्रथाले चियाखेतीप्रति उनीहरुको आकर्षण बढेको पाण्डेले बताए।

यसका साथै एनएमसीले बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग, र सहकारी सुपरमार्केटजस्ता अन्य सेवा पनि प्रदान गर्दै आएको छ। संस्थाका यी गतिविधिले स्थानीय स्तरमा कृषि व्यवसायलाई प्रोत्साहन गर्दै किसानहरुको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

झापाबाट भएको यस चिया निर्यातले नेपाली चियाको गुणस्तर र अन्तर्राष्ट्रिय मागलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img