भोजपुर | नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्गलाई प्रवर्द्धन गर्न भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरिएको छ। यो महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मंगलबार गरेका छन्। महोत्सवको उद्देश्य मुन्दुम पदमार्गको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गर्नका साथै स्थानीय कृषि, संस्कार, र संस्कृतिको प्रदर्शनी गरिने थियो।
कार्यक्रममा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गरे। मन्त्री पाण्डेले यसपटकको महोत्सवलाई संरक्षण र प्रवर्द्धनको दृष्टिकोणबाट अगाडि बढाउने बताए। महोत्सवको प्रमुख आकर्षण भनेको स्थानीय परिकारहरूको प्रदर्शनी थियो, जसमा राडीपाखीलगायतका कृषि उत्पादनहरू प्रदर्शित गरिएको थियो। पर्यटकहरूलाई कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै जैविक (अग्र्यानिक) खानाका परिकारहरूको स्वाद लिन सकिने अवसर मिलेको थियो। साथै, स्थानीय विविध जातजातिको संस्कार र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार महोत्सवको आयोजना मुख्यतः कृषि, पर्यटन र स्थानीय संस्कारको प्रवर्द्धनका लागि गरिएको हो। गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने नाराका साथ यहाँको विकासका विभिन्न गतिविधिहरू अघि बढाइरहेको जानकारी दिए। यस महोत्सवले गाउँका कृषि र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको कार्यक्रम माघ महिनाभरि चल्नेछ। माघ २ गते कवि मिल्सन राईको कविता वाचन, जारोह व्याण्डको प्रस्तुति, र स्थानीय कृषि उत्पादन प्रदर्शनी र प्रतियोगिता गरिनेछन्। प्रतियोगितामा किबि, सुन्तला, एभोकाडो, रायो साग, मुला, तरुल, र स्कूसजस्ता उत्पादनहरू समावेश हुनेछन्। माघ ३ गते खुल्ला साकेला शिली प्रतियोगिता हुनेछ, जसमा न्यूनतम १० जनाको समूहले भाग लिनेछन्। यस दिन गायक ज्वाला राईको विशेष सांगीतिक प्रस्तुति हुनेछ। माघ ४ गते परम्परागत धनुवाण प्रतियोगिता हुनेछ र यसै दिन चर्चित हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङले प्रस्तुति दिनेछन्। गायक शिव परियारले माघ ५ गते बेलुका सांगीतिक प्रस्तुति दिनेछन्। महोत्सवको अन्तिम दिन माघ ५ गते, स्थानीय कला, साहित्य, र सांस्कृतिक प्रस्तुति हुनेछ। मेलाका विभिन्न प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ र स्थानीय उत्पादनबाट बनेका परिकारहरूको स्वाद लिन पाइनेछ।
महोत्सवको समन्वय मैयुङ-टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गर्नेछ भने व्यवस्थापन चसेवा बजार तथा शहरीकरण व्यवस्थापन समिति, चखेवाले सम्हाल्नेछ।