हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकामा आयोजित सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १-० गोलले पराजित गर्दै सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुआत गरेको हो।
खेलको दोस्रो हाफको ३३औं मिनेटमा कप्तान विमल घिसिङले निर्णायक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। उत्कृष्ट प्रदर्शन गरेका घिसिङलाई खेलको ‘म्यान अफ दी म्याच’ घोषित गरिएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका सात तथा मोफसलका तीन टिम गरी कुल १० टोलीको सहभागिता रहेको छ। आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई १० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए।
सो अवसरमा अध्यक्ष प्रचण्डले खेलकुदले देशको पहिचान मात्र होइन, राष्ट्रिय एकताको आधार पनि निर्माण गर्ने भएकाले यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए।
उद्घाटनअघि पार्टी कार्यालयमा प्रचण्डको सम्बोधन
गोल्डकपको उद्घाटनअघि अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र)को बागमती गाउँपालिकामा रहेको पार्टी कार्यालयमा कार्यकर्ताहरूसँग विशेष छलफल गर्दै वर्तमान राजनीतिक अवस्था, आगामी निर्वाचनको रणनीति र माओवादी केन्द्रको भूमिका बारेमा चर्चा गरेका थिए।
सम्बोधनका क्रममा उनले माओवादी आन्दोलनलाई अझ सशक्त बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले जनतासँगको सम्बन्ध बलियो बनाउन निरन्तर संवाद आवश्यक रहेको उल्लेख गर्दै माओवादी केन्द्रले फेरि जनविश्वास आर्जन गरिरहेको दाबी गरे।
उनले भ्रष्टाचार, बिचौलिया र भूमाफियाविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै जनअपेक्षा पूरा गर्न ठोस नीति अवलम्बन गरिने बताए। “अब हामी कुनै पनि दलसँग गठबन्धन नगरी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नेछौं,” प्रचण्डले भने, “सङ्गठित, अनुशासित र योजनाबद्ध रूपमा अघि बढ्ने हो भने माओवादीको पकड बलियो हुनेछ।”
प्रचण्डले माओवादी प्रतिको जनविश्वास फेरि बढ्दै गएको दाबी गर्दै हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनले पनि माओवादीप्रति जनसमर्थन रहेको पुष्टि गरेको उल्लेख गरे। उनले देशभर माओवादीको पकड बलियो बनिरहेको र जनताको हितमा काम गर्ने पार्टीको रूपमा पुनः स्थापित हुन लागिएको बताए।
उनका अनुसार, सुशासनको दृष्टिकोणबाट ११ ओटा स्थानीय तहमा माओवादी केन्द्र बलियो देखिएको छ। नागरिकको आस्था माओवादीप्रति पुनः बढ्दै गएकाले विगतमा हारेका क्षेत्रहरूमा जित निकाल्ने रणनीति बनाउनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै अघि बढ्ने तयारी गरिरहेको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ लाग्न निर्देशन दिए ।



