काठमाडौं | महिनौँदेखि पाँचजना सहसचिव जिम्मेवारीविहीन रहेको अवस्थामा गृह मन्त्रालयमा फेरि १७ जना सहसचिव थपिएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ७८ जना सहसचिवको सरुवा गरेपछि गृहमा मात्रै १७ जना नयाँ सहसचिव खटिएका हुन्।
हाल गृह मन्त्रालयमा शशिधर घिमिरे, सूर्यप्रसाद सेढाईं, बन्धु बाँस्तोला, प्रेमप्रसाद भट्टराई र नारायण रिसाल कार्यविहीन अवस्थामा छन्। मन्त्रालयमा सहसचिवका लागि थप पद रिक्त नभए पनि ठूलो संख्यामा नयाँ सहसचिव पठाइनुले प्रशासनिक संरचनामा फेरबदल आउने संकेत देखिएको छ।
नयाँ सरुवा सूचीअनुसार, हालै बढुवा भएका भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदीश्वर उपाध्याय, दिव्यराज पोखरेल र धर्मराज जोशीलाई गृह मन्त्रालय मातहत जिम्मेवारी तोकिएको छ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बलराम रिज्याल, श्रम मन्त्रालयका सुरेन्द्र पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ईश्वरीप्रसाद अर्याल, नरहरि घिमिरे र माधवप्रसाद पोखरेलको समेत गृहमा सरुवा भएको छ।
प्रदेशस्तरबाट पनि कर्णाली प्रदेशका आनन्द सारू, लुम्बिनीका वेदप्रसाद खरेल, गण्डकीका कुमानसिंह गुरुङ, सार्वजनिक खरिद अनुगमन कार्यालयका दीपकराज नेपाललाई गृह मन्त्रालयमा ल्याइएको छ।
यता, गृह मन्त्रालयबाट भने दुई सहसचिव बाहिरिएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत रामबन्धु सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्।
यसबीच, रौतहट र ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पद रिक्त रहँदा, एक वर्ष अवधि पुगेका केही जिल्लामा नियमित सरुवा हुन सकेको छैन। गृह मन्त्रालयले नयाँ सहसचिवहरूको आगमनसँगै छिट्टै सिडिओ हेरफेरको तयारी गरिरहेको छ।
सरुवाको निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकमा भए पनि सूची बिहीबार सार्वजनिक गरिएको हो।