Wednesday, March 26, 2025
समाजभीरमा अड्किएको पुसेको अन्तिम फोन: ‘म अब सक्दिनँ...’

भीरमा अड्किएको पुसेको अन्तिम फोन: ‘म अब सक्दिनँ…’

सुधुर । बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिका–२, फ्याल गाउँका पुसे भण्डारी आइतबार बिहान माछा मार्न निस्किँदा घरमा सधैंझैं बिदाइका शब्द छाडे। करिब ४० वर्षीय पुसे अनुभवी माछा मार्ने व्यक्ति थिए। जोखिम मोलेर भीर, खोँच पार गर्दै माछा मार्न जानु उनका लागि नौलो थिएन। तर, सोही भीरले यसपालि उनलाई कहिल्यै नफर्कने गरी कर्णालीको गर्जनबीच विलीन गरिदियो।

सँधैझैं तीन–चार घण्टाको उकालो पार गरेर पुसे कर्णाली नदीको किनारमा पुगे। दिनभरि संघर्ष गर्दै माछा मारिरहे। साँझ पर्नै लाग्दा घर फर्किने बेला थियो। तर, नियतिको खेल— अचानक भीरबाट चिप्लियो, अनि पुसे तल खसे।

गम्भीर घाइते पुसे केही बेर अर्धचेत अवस्थामा रहे। बेसुर, असक्त तर बाँच्नका लागि संघर्षरत। हातमा मोबाइल थियो। काँपिरहेको हातले उनले परिवारलाई फोन गरे— ‘म भीरबाट खसेँ। घाइते भएँ। छिटो आउनु।’

फोन उठाउने परिवारका सदस्यको मन काँप्यो। गाउँभरि खबर फैलियो। गाउँलेहरू दौडिए, ज्यानको बाजी लगाएर पुसेलाई खोज्न भीरतर्फ लागे। तर, अन्धकार बढ्दै गयो। पुसेको आवाज मोबाइलबाट सुन्न सकिन्थ्यो— कमजोर हुँदै गएको, झिनो हुँदै गएको। अन्ततः उनले अन्तिम शब्द उच्चारण गरे— ‘म अब सक्दिनँ…’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो।

जब गाउँलेहरू घटनास्थलमा पुगे, सबथोक ढिलो भइसकेको थियो। पुसेको शरीर भीरमुनि अड्किएको थियो। शव निकाल्न जोखिमपूर्ण थियो। प्रहरीलाई खबर गरियो। जुद्दी प्रहरी चौकीबाट टोली खटियो। तर, भीर यति अप्ठ्यारो कि प्रहरी पनि सहजै पुग्न सकेन।

स्थानीय गणेश बुढा भन्छन्, ‘हामी ८–१० जना वारि गयौँ, ८–१० जना पारी गयौँ, तर कोही भीरमै अड्कियौँ। उद्धार गर्नै सकिएन।’ रातभर गाउँले र प्रहरी आगो बालेर बस्नुपर्‍यो। भीरमुनि पुसेको लास अड्किएको छ।

आज र्‍याफ्टिङ टोली आउँदैछ। इलाका प्रहरी कार्यालय कोल्टीबाट थप टोली घटनास्थलमा पुगिसकेको छ। धौलाकोटबाट बोट टोली झिकाएर उद्धारको प्रयास भइरहेको छ। गाउँलेहरू पुसेको शव निकालिएला भनेर प्रतीक्षामा छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img