सिरहा | सिरहाको औरही गाउँपालिका-५ मा करिब २५ वर्षदेखि सानो छाप्रोमा बस्दै आएका मलिक परिवारलाई स्थानीय जनप्रतिनिधिहरुले जबरजस्ती उठीवास गराएका छन्। पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सडक छेउमा लामो समयदेखि बस्दै आएको (दलित) मलिक परिवारलाई औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले घर भत्काएर विस्थापित गराएका हुन्।
दीपक मलिक (डोम) का परिवार बस्ने नयाँ छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको थियो, जहाँ भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी, सरस्वतीका फोटोहरू टाँसिएका थिए। तर, धार्मिक आस्थाका बाबजुद उनीहरूलाई अमानवीय रूपमा घरबाट उठीवास गरिएको छ। सोही स्थानमा चैत १७ गतेदेखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुने भन्दै मलिक परिवारलाई निष्काशन गरिएको हो। महायज्ञ आयोजकका प्रमुख व्यक्तित्व बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादवले गाउँपालिकाकै जेसीभी प्रयोग गरी फागुन १० गते मलिक परिवारको घर भत्काएका हुन्।
मात्र घर भत्काइएन, मलिक परिवारको बसोबास रहेको स्थानलाई ‘अछुतले छोएको’ भन्दै दुई फिट माटो खनी खोलामा फालिएको छ। यो घटनाले दलित समुदायमाथि गरिने विभेद अझै गहिरिएको देखाएको छ।
विस्थापनपछि चरम संकट
घर भत्काइएपछि मलिक परिवारलाई श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिब २ धुर जग्गामा दुई कोठे टिनको छाना भएको घरमा सारिएको छ। तर, उक्त नयाँ स्थानमा उनीहरूलाई पानी तथा बिजुलीको कुनै सुविधा छैन। अनिता मलिकले भनिन्, “हामी श्रीमान्-श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइयो। हामी निरीह भएकाले प्रतिकार गर्न सकेनौं।”
दीपक मलिकको परिवारमा उनकी श्रीमती अनिता, दुई छोरा अर्जुन (१७) र आकाश (८), दुई छोरी किरण (१३) र प्रीति (१०), तथा नवविवाहित बुहारी गरी सात जना सदस्य छन्। नयाँ घरमा बसोबास गर्नुपर्ने भए पनि पानी र बिजुलीको अभावका कारण उनीहरू चरम कठिनाइमा छन्। “बिजुली नभएकाले दिउँसै खाना पकाउनुपर्ने बाध्यता छ,” अनिताले दुखेसो पोखिन्।
स्थानीय प्रशासनको उदासिनता र छुवाछूतको अपराध
गाउँपालिका अध्यक्ष शिवजी यादवले घटनाको पुष्टि गर्दै उक्त ठाउँमा कृषि बजार निर्माण गर्न ३ करोड रुपैयाँको टेन्डर भएको कारण मलिक परिवारको घर हटाइएको बताए। तर, धार्मिक कारण देखाउँदै गरिएको जबरजस्ती उठीवासले यस घटनालाई गम्भीर सामाजिक अन्यायका रूपमा चित्रण गरेको छ।
घटनाबारे विभिन्न मिडियाहरूमा समाचार आएपछि जिल्ला प्रहरी प्रमुख रमेश पण्डितले घटनास्थलको निरीक्षण गर्दै महायज्ञलाई तत्काल रोकिने आदेश दिएका छन्। “यो महायज्ञ विवादित बनेको छ। केन्द्रबाटै रोक्न निर्देशन आएको छ,” उनले बताए।
महायज्ञका मुख्य पुजारी बजरंगी बाबाले मलिक परिवारको बसोबास रहेको ठाउँलाई ‘पवित्र’ बनाउने भन्दै जल छर्किएको दाबी गरेका छन्। दलित अधिकारकर्मीहरूका अनुसार यो सरासर छुवाछूतको अपराध हो, जसका दोषी बजरंगी बाबा, गाउँपालिका अध्यक्ष शिवजी यादव, र पूर्व वडाध्यक्ष दिलीप यादवलाई कानूनी कारबाही गर्नुपर्ने माग गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले घटनाको छानबिन गर्नुपर्ने माग उठाइएको छ।