काठमाडौं | सरकारले विवाह गर्ने कानुनी उमेर घटाउने विषयमा छलफल अघि बढाएको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहसम्बन्धी कानुन संशोधन गर्न विधेयक तयार भइसकेको जानकारी दिएका छन्।
हाल नेपालमा विवाह गर्न पुरुष र महिलाको उमेर कम्तीमा २० वर्ष हुनुपर्ने कानुनी व्यवस्था छ। तर, सरकारले यसलाई १८ वर्षमा झार्ने वा ‘रोमियो जुलियट ल’ (Romeo and Juliet Law) जस्तै कानुनी प्रावधान अपनाउने विषयमा छलफल गरिरहेको गृहमन्त्री लेखकले बताए।
‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार केही देशहरूले १६ देखि १८ वर्षबीचको प्रेम सम्बन्धलाई कानुनी मान्यता दिने प्रावधान ल्याएका छन्,’ उनले भने, ‘नेपालमा पनि त्यही दिशामा छलफल भइरहेको छ। एक विकल्प विवाहको कानुनी उमेर घटाउने हो भने अर्को, “रोमियो जुलियट ल” जस्तै व्यवस्था अपनाउने हो।’
यो कानुन अनुसार, यदि १६ देखि १८ वर्ष उमेर समूहका युवा-युवतीबीच सहमतिमा शारीरिक सम्बन्ध भए, त्यसलाई जबर्जस्ती करणी (रेप) मान्नुपर्ने कि प्रेम सम्बन्धका रूपमा हेर्ने भन्ने विषयमा कानुनी स्पष्टता ल्याइनेछ। ‘विभिन्न देशहरूले यो कानुन लागू गरेका छन्। नेपालले पनि अध्ययन गरिरहेको छ,’ गृहमन्त्री लेखकले बताए।
थुनुवा र कैदीबन्दीका मानवअधिकारको सुरक्षा
गृहमन्त्री लेखकले हिरासत तथा कारागारमा रहेका व्यक्तिहरूको मानवअधिकार संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। ‘कुनै पनि थुनुवा वा कैदीबन्दीमाथि अमानवीय व्यवहार गर्न पाइँदैन। सरकारले पूर्ण सुरक्षा दिनेछ,’ उनले भने।
सरकारले हिरासत सुधार, भौतिक पूर्वाधार विकास, र थप कारागार निर्माणलाई प्राथमिकता दिने योजना बनाइरहेको पनि उनले बताए। संसदीय समितिले स्थलगत अध्ययनपछि दिएको प्रतिवेदनका आधारमा हिरासत सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ छ।