बागमती प्रदेशमकवानपुरपत्रकारितामा नयाँ पुस्ताका लागि अवसर धेरै, तर चुनौती पनि कम छैन

पत्रकारितामा नयाँ पुस्ताका लागि अवसर धेरै, तर चुनौती पनि कम छैन

हेटौँडा | स्वतन्त्र पत्रकार संघ मकवानपुरले नयाँ पुस्ताका पत्रकारहरूका लागि अवसर, चुनौती र आवश्यक तयारीबारे प्यानल छलफल आयोजना गरेको छ। बिहीबार हेटौँडाको पलपसा सदनमा सम्पन्न ‘मकवानपुरे पत्रकारीतामा नयाँ पुस्ता- चुनौती, अवसर र तयारी’ शीर्षकको प्यानल छलफलमा अनुभवी पत्रकार, सञ्चार विज्ञ, संस्थागत प्रतिनिधिहरू र युवा पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, तथा युवा पत्रकार जमुना थिङ प्रमुख वक्ताका रूपमा उपस्थित रहे। कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीले गरेका थिए भने अग्रज पत्रकार राममणी दाहाल विश्लेषकका रूपमा सहभागी रहे।

पत्रकारितामा अवसर धेरै भए पनि चुनौती उस्तै

वरिष्ठ पत्रकार प्रताप विष्टले नेपालमा पत्रकारिता विगतको तुलनामा सहज भए पनि त्यससँगै चुनौती थपिएको उल्लेख गरे। “विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त थियो। अहिले प्रविधिको विकासले समाचार सम्प्रेषण सहज बनेको छ, तर कन्टेन्टको गुणस्तर र अनुशासन चुनौती बनेका छन्,” उनले भने।

उनले विशेष गरी सामाजिक सञ्जालमा मात्र निर्भर भएर पत्रकारिता गर्ने प्रवृत्तिलाई गलत ठहर गर्दै अनुसन्धानात्मक पत्रकारितामा ध्यान दिनुपर्ने बताए। “समाजका दबिएका आवाजहरूलाई उठाउनु नै पत्रकारिताको मूल उद्देश्य हो। नयाँ पुस्ताले डिजिटल युगमा मौलिकता जोगाउँदै गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ,” उनले जोड दिए।

डिजिटल मिडियाको प्रभाव, तर विश्वसनीयता चुनौती

बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले इन्टरनेट प्रविधिको विकाससँगै अनलाइन मिडियाको वृद्धि भए पनि समाचारको गुणस्तरमा सुधार नआएको बताए। “पहिले सञ्चारमाध्यम सीमित थिए, तर समाचारको गहिराइ थियो। अहिले भने माध्यम धेरै भए पनि विश्वसनीयता र गहिराइमा कमी देखिन्छ,” उनले भने।

उनका अनुसार सञ्चार व्यवसायलाई आर्थिक रूपमा सबल बनाउन विज्ञापन तथा डिजिटल आम्दानीका नयाँ मोडेलहरू अपनाउनु आवश्यक छ। “नयाँ पुस्ताले पाठकको विश्वास जित्न व्यावसायिकता, अनुसन्धान र नवीनता अपनाउनु पर्छ,” सापकोटाले सुझाब दिए।

पत्रकारिता कानुनी रूपमा सुरक्षित हुनुपर्छ

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुनेमा जोड दिँदै पत्रकारिता कानुनी रूपमा सुरक्षित हुनुपर्ने बताए।

“सरकार वा कुनै समूहको दबाबमा समाचार रोक्ने प्रवृत्ति नकारात्मक छ। नयाँ पुस्ताले अनुसन्धानमूलक पत्रकारितालाई अघि बढाउनुपर्छ। मकवानपुरे पत्रकारिता अन्य ठाउँको भन्दा जिम्मेवार, नागरिकप्रति उत्तरदायी र व्यावसायिक छ,” अधिकारीले भने।

डिजिटल पत्रकारिताको अवसर र चुनौती

युवा पत्रकार जमुना थिङले नयाँ पुस्ताले डिजिटल मिडियामा अवसर खोज्न सक्ने भए पनि सामग्रीको गहिराइ र पत्रकारिता आचारसंहिता पालना नगर्ने प्रवृत्तिले समस्या निम्त्याउने बताइन्। उनले समाचार लेखेपछि विभिन्न पक्षबाट हटाउनुपर्ने दबाब आउने गरेको उल्लेख गर्दै, “अवसर नै चुनौती हो, चुनौती नै अवसर हो” भन्ने धारणा व्यक्त गरिन्।

उनले पत्रकारिता क्षेत्रमा श्रमको उचित मूल्यांकन हुन नसकेको र श्रम कानुन प्रभावकारी रूपमा लागू नभएको बताइन्।

थिङले भनिन्, “हामी नयाँ पुस्ताले प्रविधिलाई आत्मसात गर्दै पत्रकारितामा नयाँ प्रयोग गरिरहेका छौं। सामग्रीमा नवीनता खोज्ने प्रयास पनि गरिरहेका छौं, तर कहिलेकाहीँ समाचार हटाउन दबाब आउने समस्या झेल्नुपर्छ। त्यसैले पत्रकारितामा विश्वसनीयता कायम राख्न विशेष ध्यान दिन जरुरी छ।”

अनुसन्धानमूलक पत्रकारिता नै टिक्ने आधार

कार्यक्रमको समापनमा अग्रज पत्रकार राममणी दाहालले अनुसन्धानमूलक, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामा ध्यान दिन नयाँ पुस्ताका पत्रकारहरूलाई सुझाव दिए। “पत्रकारिता अब समाधानमुखी र सिर्जनात्मक हुनुपर्छ। अध्ययनशील पत्रकार मात्र टिक्न र बिक्न सक्छ,” उनले निष्कर्ष निकाले।

उनले आफ्नो पुस्ता र नयाँ पुस्ताबीच ज्ञान, अनुभव र कार्यशैलीमा ठूलो अन्तर रहेको बताउँदै, नयाँ पुस्ताले त्यो खाडल पार गर्न अझ कठिनाइ भोग्नुपर्ने उल्लेख गरे। “अहिलेको पुस्ताले प्रविधिको सहजता पाएको छ, तर गुणस्तर कायम राख्न चुनौती थपिएको छ,” उनले थपे।

संघका अध्यक्ष राजन घिमिरे अनुरागले कार्यक्रमको उद्स्यबारे जानकारी गराउँद आगामी दिनमा यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गरिने बताए।

कार्यक्रममा विभिन्न संचारकर्मी, उद्योगी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक व्यक्तित्व तथा अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

  

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img