भुवनेश्वर | भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत फेला परेकी छिन्। पछिल्लो दुई महिनामा यो दोस्रो नेपाली विद्यार्थीको मृत्यु हो ।
पर्साको वीरगन्जकी १९ वर्षीया प्रिसा साह, जो बीटेक प्रथम वर्षमा अध्ययनरत थिइन्, बिहीबार साँझ विश्वविद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी १११ नम्बर कोठामा एक्लै बस्दै आएकी थिइन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, साँझ साढे सात बजे हाजिरीको समयमा ढोका नखुलेपछि जबरजस्ती कोठा खोल्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। भुवनेश्वर प्रहरीले प्रारम्भिक अनुसन्धान आत्महत्या भएको संकेत दिए पनि विस्तृत कारण अझै खुलेको छैन। दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासका अनुसार, परिवारको सहमतिपछि मात्र पोस्टमार्टम गरिनेछ।
यसअघि, गत ४ फागुनमा रूपन्देहीकी २० वर्षीया प्रकृति लम्सालले पनि यसै विश्वविद्यालयको होस्टेलमै आत्महत्या गरेकी थिइन्। उनले विश्वविद्यालय प्रशासन समक्ष मानसिक दुर्व्यवहार र ब्ल्याकमेलिङबारे दुईपटक उजुरी दिएपनि सुनुवाइ नभएको आरोप लागेको थियो।
प्रकृतिको घटनापछि नेपाली विद्यार्थीहरूले आक्रोशित हुँदै विरोध प्रदर्शन गरेका थिए। तर उल्टै प्रशासनले उनीहरूलाई होस्टेलबाट निकाल्ने, दुर्व्यवहार गर्ने र सुरक्षा दिन नसक्ने व्यवहार देखाएको आरोप लागेको थियो।
केआइआइटीमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, जसमा १,२०० भन्दा बढी नेपाली विद्यार्थी रहेका छन्। यति ठूलो संख्यामा नेपाली विद्यार्थी भएकै संस्थाबाट छोटो अवधिमा लगातार दुइ दुःखद घटना हुनु आपत्तिजनक र अस्वीकार्य भएको भन्दै नेपाली समुदाय र मानव अधिकार समूहले आवाज उठाउन थालेका छन्।
गत घटनापछि नेपाल सरकारले भारतमा अध्ययनका लागि दिइने एनओसी (No Objection Certificate) प्रक्रिया रोक्ने चेतावनी दिएको थियो। त्यसपछिको दबाबमा ओडिसा राज्य सरकारले छानबिन समिति गठन गरेको थियो र फिर्ता गरिएका विद्यार्थीलाई पुनः बोलाइएको थियो।



