हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपरान्ह एक्कासी सडक भासिँदा माछा बोक्दै गरेको एक बलेरो गाडी जमिनमुनि हराएको छ। ना ४ च ४८३३ नम्बरको उक्त सिंगल क्याप भ्यान सडकसँगै बनेको खाल्डोमा भासिएर बेपत्ता भएको हो।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार गाडी रोकिराखिएको स्थानमा एक्कासि जमिन भासिँदा गाडी भासिएको हो। गाडी भासिएसँगै त्यस ठाउँमा ठूलो दह बनेको र पानीले भरिएको अवस्थामा खोजी कार्य भइरहेको उनले जानकारी दिए।
गाडीका चालक र सहचालक भने समयमै बाहिर निस्केर ज्यान जोगाउन सफल भएका छन्। प्रत्यक्षदर्शीका अनुसार गाडी करिब ५ सेकेन्डमै पानीमुनि बिलाएको थियो।
घटनास्थल नजिकै माछा पालनको पोखरी र बोरिङ रहेकोले त्यही कारणले जमिन भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले पानीको निकास खुलाउने कामसँगै गाडीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।