काठमाडौं | अमेरिका बसाइ सराइको सहज अवसरको रूपमा हेरिँदै आएको अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) लटरी कार्यक्रमअन्तर्गत सन् २०२५ का लागि आवेदन दिएका लाखौं व्यक्तिहरूमध्ये भाग्यशाली आवेदकहरूका लागि आज शनिबारको साँझ निर्णायक बन्ने भएको छ। अमेरिकी डिपार्टमेन्ट अफ स्टेटका अनुसार, नेपाली समयअनुसार आज राति ९ः४५ बजेबाट डिभी लटरीको नतिजा सार्वजनिक हुनेछ।
नतिजा अमेरिकाको परराष्ट्र मन्त्रालयको आधिकारिक वेबसाइट dvprogram.state.gov मा हेर्न सकिनेछ। नतिजा हेर्नका लागि प्रत्येक आवेदकले आफ्नै पुष्टिकरण नम्बर, थर र जन्म वर्ष सही ढंगले प्रविष्ट गर्नुपर्नेछ। नतिजा प्राप्त गर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइन र नि:शुल्क हुनेछ। यसमा कुनै फोन कल, इमेल वा तेस्रो पक्षबाट सूचित गरिँदैन।
तर यस वर्षको डिभी लटरी कार्यक्रमको प्रकाशनसँगै यसको भविष्य भने अन्योलमा परेको छ। अमेरिकी प्रतिनिधिसभामा हालै एक नयाँ विधेयक दर्ता भएको छ, जसले डिभी लटरी कार्यक्रमलाई नै खारेज गर्न प्रस्ताव गरेको छ। जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद माइक कोलिन्सद्वारा दर्ता गराइएको यो विधेयकको नाम ‘द सेक्युरिटी एण्ड फेयरनेस इन्ह्यान्समेन्ट फर अमेरिका–२०२५’ रहेको छ। यदि उक्त विधेयक अमेरिकी संसदको दुई-तिहाइ बहुमतले पारित भयो भने, सन् २०२५ पछि डिभी कार्यक्रम बन्द हुने सम्भावना प्रबल छ।
अमेरिकी डिभी कार्यक्रम सन् १९९० मा अध्यागमन ऐनमार्फत सुरु गरिएको हो। तबदेखि हालसम्म हरेक वर्ष करिब ५५ हजार मानिसहरूलाई ग्रीनकार्ड दिने प्रणालीमार्फत अमेरिका भित्रिने अवसर प्रदान गर्दै आएको छ। नेपालमा पनि उक्त कार्यक्रम सुरु भएको वर्षदेखि नै उल्लेखनीय सहभागिता रहँदै आएको छ। हालसम्म ५७ हजारभन्दा बढी नेपाली नागरिकले यस कार्यक्रममार्फत ग्रीनकार्ड प्राप्त गरिसकेका छन्, जुन अमेरिकी नागरिकता प्राप्त गरेका नेपाली मूलका व्यक्तिहरूको करिब २५ प्रतिशत हिस्सा हो।
डिभी कार्यक्रम नेपाली नागरिकहरूका लागि मात्रै नभई विश्वभरका कम आप्रवासन दर भएका देशहरूका लागि अमेरिका प्रवेश गर्ने सबैभन्दा सहज विकल्पको रूपमा रहेको छ। डिभी प्राप्त गर्न सफल भएमा आवेदक मात्र होइन, सपरिवार अमेरिका स्थायी रूपमा बसोबास गर्न पाउने अवसर प्राप्त हुन्छ। यही कारणले नेपालमा हरेक वर्ष लाखौं नागरिकहरूले डिभी आवेदन दिने गर्दछन्।
तर, पछिल्ला वर्षहरूमा अमेरिकी प्रशासनको आप्रवासन नीतिमा देखिएको कडाइ, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको स्पष्ट विरोध, र नयाँ संसदमा पेश भएको विधेयकले गर्दा डिभीको भविष्य अन्योलपूर्ण बनेको छ।
त्यसैले आज प्रकाशित हुने इडिभी २०२५ को नतिजा सम्भवतः यस कार्यक्रमको अन्तिम संस्करणमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ। त्यसैले पनि यस पटकको नतिजा विशेष चासोको विषय बनेको छ।
यसैबीच, विज्ञहरूले आवेदकहरूलाई ठगी, गलत सूचना र नक्कली वेबसाइटहरूबाट सचेत रहन सुझाव दिएका छन्। आधिकारिक जानकारीका लागि मात्र dvprogram.state.gov वेबसाइटमा भर पर्नु उपयुक्त हुने बताइएको छ।